नेपाली साहित्य र समाजमा पारिजात एउटा मिथजस्तो भइसकेको छ। उनको साहित्य र जीवनका बारे विभिन्न समयमा अनेक कोणबाट चर्चा परिचर्चा हुने गर्छ।
यसै सिलसिलामा ‘आह्वान समुह’ले शनिबार थापाथलीस्थित मार्टिन चौतारीमा पारिजात–संवाद गरेको छ। पारिजातका जीवनका लुकेका पाटोबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा पारिजातकी बहिनी सुकन्या वाइवा र साहित्यकार एवं चिन्तक आहुतीले पारिजातका नखुलेका पाटाहरूका बारेमा चर्चा गरेका थिए।
पारिजातका स्वभाव, चरित्र, रुचि र व्यक्तित्वका बारेमा बहिनी सुकन्याले स्मरण गरिरहँदा उपस्थित श्रोताहरू उत्सुक र जिज्ञासु बनेका थिए। पारिजातकी बहिनी सुकन्याका अनुसार पारिजातको कुनै पनि पुरुषप्रति पुर्वाग्रह थिएन। यस्तै पारिजात साहित्यका अतिरिक्त समाजसेवामा पनि सक्रिय रहेको तथ्य सुकन्याले बताइन्। उनले पारिजातको पारिवारिक सम्बन्ध र बाल्यकालीन जीवनको सजीव चित्रण गरिन्।
पारिजातमाथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै अर्का वक्ता आहुतीले कठीन समयका बाबजुद पनि संगठित भएर काम गर्न सक्नु पारिजातको उल्लेख्य पाटो रहेको बताए। आहुतिले भने, ‘पारिजात पनि तत्कालीन पुरुष सत्ता र राजजीतिक सत्ताको सिकार बनिन् तर उनको प्रतिभाले त्यसलाई जित्यो।’
संवाद कार्यक्रमको निबन्धकार कुमारी लामाले सहजीकरण गरेकी थिइन्।