कवि एवं गीतकार विप्लव प्रतीक नेपाली साहित्यमा भिन्न शैलीको लेखनका कारण परिचित छन्। उनको पहिलो उपन्यास ‘अविजित’ केही महिना अघिमात्र प्रकाशित भएको थियो। प्रतिक नेपाली मात्र नभएर विश्वसाहित्यमा गहन अध्ययन गर्ने कवि हुन्। किशोरवस्थादेखि नै विश्व साहित्यमा लगाव दिने उनै कवि, आख्यानकार विप्लव प्रतिकले आफ्ना प्रिय पाँच पुस्तकहरूको बारेमा यस्तो बताउँछन्।
हाउ दि स्टिल वाज टेम्पर्ड: लेखक- निकोलाई आस्त्रोभ्स्कीजिन्दगीको धागो कहिले चुँडिन्छ र मृत्युको इनारमा खस्छ, थाहा छैन। त्यसैले मृत्युको काखमा पुग्नुअघि कहिले कसैलाई चित्त दुख्ने काम नगरूँ र बाँचुञ्जेल सत्कर्म गरूँ भन्ने भावलाई मैले यो किताब पढ्दा मन भित्रदेखि महसुस गरें। सोह्र वर्ष हुँदा सौभाग्यवश पढ्न पाएको यस किताबले मेरो सोचलाई त्यति नै खेरदेखि बदलिदियो।
सिद्धार्थ: लेखक- हर्मन ह्यस्सेहरेक मान्छे बुद्ध हो, ज्ञानी हो र सत्पुरुष हो। तर एउटाको ज्ञान अर्कोलाई काम नलाग्न सक्छ, एउटाको सत्य अर्काको लागि सत्य नहुन सक्छ। त्यसैले कोही कसैको गुरु होइन, कोही कसैको पथप्रदर्शक होइन र दुरुह होला, तर आफ्नो मार्ग आफैँ पत्ता लगाऊ बिना अभिमान भन्ने कुरा यस पुस्तकले मलाई सिकाएको छ।
दि इडियट : लेखक-फ्योदोर दस्तोएभ्स्कीजारकालीन एउटा अधबेस्रो राजकुमारको कथा हो यो। स्वीजरल्याण्डको स्वास्थ्यकेन्द्रमा स्वास्थ्यलाभ गरेर फर्केको राजकुमार मिश्किन रसिया फर्किएपछि दुई जना केटीसँग प्रेममा पर्छ। कहिले खुशी मिल्छ उसलाई तर कहिले दर्दले च्यातिदिन्छ उसको जिन्दगी घरिघरि । एउटा मान्छेमा हुनुपर्ने इमान्दारी, असलपन कसरी समाजमा सुहाउँदैन भन्ने कुरा रोचक ढंगले प्रस्तुत गरिएको प्रस्तुत उपन्यास अहिले पनि हाम्रो जीवनमा मिल्दछ ।
दि प्रफेट: लेखक-खलील जिब्रानजीवनबारे भनिने, सोचिने र व्याख्या गरिने तमाम परम्परागत कुरालाई पन्छाएर संसारका सारा कुरा अस्थायी छन् भन्ने कुरा बुझाउन खलील जिब्रानले जसरी काव्यात्मक तरिकाले अभिव्यक्त गरेका छन्, त्यो अनुपम छ। गीता ज्ञान होला, त्रिपिटक होला र अन्य कति दर्शन छन् तर जिब्रानको ‘दि प्रफेट’ मेरा लागि साहित्यका मार्फत मन, मष्तिस्क र आत्मा शुद्ध गर्ने अमृत मार्ग हो ।
लस्ट फर लाइफ : लेखक- अर्भिङ स्टोनविशिष्ट कोटिको साहित्यमा पर्ने यस पुस्तक साहित्य, कला र संगीत जगतमा सुविख्यात चित्रकार भ्यान्गगको अव्यवस्थित जीवनमा आधारित उपन्यास हो। भावनात्मक रुपमा रित्तिएको आनन्द लिन र मानसिक रुपमा उर्जा ग्रहण गर्न यदि पाठक चाहन्छ यो पुस्तक निकै उपयोगी हुनेछ।