सुदुरपश्चिमको कथा समेटिएको छाेटाे फिल्म ‘जालगेडी’ बाट पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (पिम्फ) सुरू भएकाे छ। पिम्फकाे तेस्रो संस्करण बिहिबारबाट पोखराकाे सभागृहमा सुरू भएकाे हाे।
पोखरा फिल्म सोसाइटीको आयोजनामा तीन दिनसम्म याे महाेत्सव चल्दैछ। महाेत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन हुनेछ।
महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन लगायतका चलचित्र समेटिएका छन्।
समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्वसमा समावेश गरिएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए। उनले भने, ‘नेपालको विषयवस्तुलाई उठाइएका विदेशी चलचित्रहरुलाई महोत्वसमा छनोट गरिएको छ।’
महोत्सवमा पोखराका दुईवटा फिल्मसमेत समावेश गरिएका छन्। यसैगरि नेपाली फिल्म ‘तुइन’को प्रिमिएर समेत गरिनेछ।
महोत्सवमा २५ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएका छन्।