चलचित्र विकास बोर्डले नेपालका २५ कलाकारलाई अभिनय सिक्न भारत पठाउने भएको छ। भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा नेपाली कलाकारलाई भारतको पुनेमा तालिम लिन पठाउँन लागेको हो।
निकिता पौडेलको अध्यक्षता रहेको बोर्डले बुधबार अभिनेता तथा अभिनेत्री पठाउने बारे जानकारी सार्वजनिक गरेको छ। कलाकारहरूलाई पुनेस्थित 'भारतीय फिल्म तथा टेलिभिजन संस्थान' मा २० दिने अभिनय प्रशिक्षण दिइन लागिएको जारी विज्ञप्तीमा उल्लेख छ।
इच्छुक कलाकारले तालिमका लागि पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदकले नेपाली कथानक चलचित्र वा विज्ञापन चलचित्रमा अभिनय गरेको हुनुपर्ने नियम छ।
विज्ञप्ती अनुसार, भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ। साथै, बोर्डको इमेल FDBnepal@gmail.com मा पनि पठाउन सकिनेछ।