बलिउड अभिनेता शाहरुख खान स्विट्जरल्यान्डको दाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा सम्मानित भएका छन्। सामाजिक कार्यमा याेगदान गरेवापत् उनलाई क्रिस्टल अवार्डले सम्मान गरिएको हो।
वर्ल्ड इकोनोमिक फोरममा सामाजिक कार्यमा योगदान पुर्याउने विश्वका ३ कलाकारलाई सम्मान गरिन्छ। यसपटक बलिउडका शाहरुखसहित हलिउड अभिनेत्री केट ब्लैंचेट र संगीतकार एल्टन जोनलाई क्रिस्टल सम्मान गरिएको हो।
शाहरुखले भारतमा ‘मीर फाउन्डेशन’ नामक संस्था संचालन गर्दै आएका छन्। यसले महिला र बच्चाहरूको जीवन रक्षा निम्ति काम गर्छ। फाउन्डेशनमार्फत चिकित्सा उपचार, कानूनी सहायता, व्यवसायिक प्रशिक्षण, पूनर्वासको माध्यमबाट एसिड हमलामा परेका महिलाहरूको लागि सहयोग प्रदान गर्दै आएका छन्।
यसअघि भारतका अमिताभ बच्चन, मल्लिका सराभाइ, ए.आर.रेहेमान, सबाना अज्मि, रवि शंकर र अंजद अलि खानले उक्त अवार्ड प्राप्त गरिसकेका छन्।
योसँगै शाहरुखको एजेन्डामा थप शक्ति मिलेको छ। भारतमा पछिल्लो समय प्रतिष्ठित व्यक्तिहरुको यौन दुराचार सम्बन्धी घटना सार्वजनिक भइरहेका छन्।
'हामी सक्नेहरुले नै यी सबैसँग सम्बन्धित बन्धन तोड्नपर्छ। मैले यो कुरा तिनै सुन्दर महिलाबाट सिकेको हुँ,' एसिड पीडित महिलालाई इंगित गर्दै शाहरुखले भने।
यो अवार्ड समाजमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने कलाकारलाई दिइन्छ।
शाहरुखको नयाँ फिल्म 'जिरो' यसै वर्ष डिसेम्बरमा रिलिज हुने बताइएको छ। फिल्ममा उनी होचा व्यक्तिको भूमिकामा छन्।