कविको रूपमा परिचित ज्योति जंगलको पहिलो कथा संग्रह ‘छाँया’ सार्वजनिक भएको छ।
सर्वनाम थिएटरमा शनिबार आयोजित एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो। साथै यसै अवसरमा संग्रहमाथि समालोचक महेश पौडेल, राजकुमार बानियाँ र कुमारी लामाले बाबु त्रिपाठीको सहजीकरणमा अन्तरक्रिया गरेका थिए।
निकै रोचक बनेको अन्तर्क्रिया कार्यक्रममा कथाकार ज्योतिको कथाकारिताको चर्चासँगै समग्र नेपाली कथाको आयामबारे वक्ताहरूले बहस गरेका थिए। यसै सिलसिलामा पछिल्लो समयको कथाकारितामा निमोनिया लागेको भन्दै नयाँ शिल्पको आवस्यकता रहेको समीक्षक राजकुमार बानियाँले औंल्याए। कथाहरू नारीवादीमात्र नभएर सामाजिक यथार्थवादी धारमा महिलामैत्री रहेको समालोचक महेश पौड्यालले बताए। अर्का वक्ता कुमारी लामाले श्रृजनाधर्मको वरिपरि रहेर ज्योति जंगलले यथार्थवादी ढंगका कथाहरू लेखेको बताइन्।
स्रष्टा जंगलले भने आफुले समाजमा देखेका भोगेका सत्यहरूलाई नै कथामा उनेको स्पष्ट पारिन्। सांग्रिला बुक्सले प्रकाशन गरेको कथासंग्रहमा कूल एघार वटा कथाहरू रहेका छन्।