काभ्रेपलाञ्चोकको सांस्कृतिक नगरी पनौतीमा स्वरसम्राट नारायणगोपालको स्मृतिमा बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। पनौतीका गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठको एकल गायनमा कार्यक्रम सम्पन्न भएको हो।
शनिबार पनौतीको नगरपालिकाको सभाहलमा दर्शकहरूको ठूलो उपस्थितिमा गायक सुरेन्द्रले नारायण गोपालको एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए। गीतकार तथा चलचित्रकर्मी यादव खरेल, गीतकार कवि दिनेश अधिकारी तथा नगर प्रमुख भीम न्यौपानेको समुदघाटन सँगै अघि बढेको साङ्गीतिक कार्यक्रमले स्थानीय क्षेत्रमा नयाँ माहौल सृजना गरेको छ।
कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार, एवं चलचित्रकर्मी यादव खरेलले स्वरसम्राट स्व.नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा देशभर विभिन्न कार्यक्रम चल्ने क्रम जारी रहेको अवस्थामा काभ्रेको पनौतीमा पनि यसरी कार्यक्रम हुनु गौरवको कुरा रहेको बताए। त्यसैगरी गायक सुरेन्द्रको प्रस्तुतिमा रौनकता र उत्साह रहेको र आगामी दिनमा पनि आफ्नो एकल गायन गर्न हौसला प्रदान गर्दै काभ्रेको यो प्रयासलाई सबल रुपमा लिनुपर्ने गीतकार एवं कवि दिनेश अधिकारीले बताए।
कार्यक्रमका संयोजक लक्ष्मण मातंछे (दोर्जे)का अनुसार यो पहिलो प्रस्तुतिले नै उत्साह थपेको हुँदा आगामी दिनमा पनि यस्ता एकल साङ्गीतिक कार्यक्रम गर्ने जानकारी गराए।