नेपाली कला र साहित्यमा दार्जिलिङ तथा त्यस आसपासको माहोलले ठूलो प्रभाव पारेको देखिन्छ। नेपाली भाषा बोल्ने ठूलो जनसंख्या यसै क्षेत्रमा बसोबास गर्छन्। नेपाली साहित्यका सबै विधामा दार्जिलिङको उपस्थित बलियो छ। अगमसिंह गिरी, ईन्द्रबहादुर राईजस्ता स्रष्टाहरूले नेतृत्व गरेको भारतीय नेपाली साहित्य अहिले युवा पुस्ताको काँधमा आएको छ। यस्तोमा विगत दुई दशकदेखि कविता र लेखनमा सक्रिय छन् सिलिगुढीका राजा पुनियानी। पुनियानीले ‘हस्तक्षेप’ नामक साहित्य आन्दोलनलाई नेतृत्व गरिरहेका छन्। उनै कवि राजा पुनियानीसँग सेतोपाटीका निर्भीकजंग रायमाझीले गरेको कुराकानी। तपाईंको लेखनको प्रारम्भिक अवस्था कस्तो थियो, स्मरण गर्नुहोस् न?मैलै करियर थालेको पत्रपत्रिकाबाट नै हो। मिडियासँग त सानै उमेरदेखि नजिक भएको हुँ। विस्तारै म इतिहासज्ञ डा. कुमार प्रधान नेतृत्वको टिममा काम गर्न थालें। यसले मेरो विचार र शैलीमा निखार ल्यायो। सन् १९९५ पछि ‘अब’ भन्ने पत्रिकाबाट मेरो व्यवसायिक लेखन संयोजन सुरू भयो। लेख भन्दा पनि त्यतिबेला म स्केच तथा इलस्ट्रेसन गर्थेँ। यस सँगसँगै स्तम्भ लेखन, सम्पादन, संयोजनमा म लागेँ।
लामो समयदेखि भारतीय–नेपाली साहित्यमा आन्दोलनले नेतृत्व दिइरहेको छ, किन त्यहाँको साहित्यमा आन्दोलनको आवश्यकता भएको हो? सुरूमा इन्द्रबहादुर राईहरूले आन्दोलनमार्फत् नै साहित्यलाई नेतृत्व दिनुभयो। जुन आन्दोलनले साहित्यलाई गम्भीर ढङ्गले लिनुपर्छ भन्ने धारणा दियो। यसपछि ‘संक्रमण लेखन’ आयो। अनि ‘विचलन लेखन’ आयो।
यो किन त? आन्ट फिसरले ‘नेसेसिटी अफ आर्ट’मा लेखेका छन्– ‘कलाको जरुरत किन छ? कला–शिल्प समाजमा किन चाहिन्छ? हामी जे गर्छौं त्यसको उपादेयता त हुनुपर्यो। भनेपछि साहित्यको पनि एउटा उपादेयता हुनुपर्यो।’यसैले आफ्नो सन्तुष्टिको लागि मात्र लेखिने भन्ने हुँदैन। त्यो आखिरीमा समाजसँगै जोडिन्छ नै।
दार्जिलिङमा विगत एकसय सालदेखि संकट छ। पहिचानको संकट। राष्ट्रिय सञ्चार माध्यमले पनि हामीलाई स्थान नदिने हुनाले यहाँ संघर्ष आवश्यक छ। यसैबीच समाजमा हिजोकोजस्तै वर्ग संघर्ष पनि छ। यस्तो वस्तुगत स्थितिमा हामीलाई साहित्यिक– सांस्कृतिक आन्दोलनको खाँचो परेको हो।
भनेपछि अहिले भारतीय नेपाली साहित्यमा एकता र नेतृत्वको खाँचो देखिएको हो?हो, एकप्रकारले नेतृत्वको खाँचो छ। राजनीतिमा जसरी नेतृत्व जन्मिन्छ यसको प्रभाव त साहित्यमा पनि त परिहाल्छ। यसकारण अहिले सोचेजस्तो नेतृत्व पाउन सकेको स्थिति छैन। फेरी गुटको अवधारणा जो छ, मेरो विचारमा चाहिँ गुट आवश्यक छ। किनकि विचार मिल्नेबीच त समूह खडा भइहाल्छ। तर गुटले बिगार्ने, भत्काउने भन्दा पनि सार्थक काम गर्नुपर्यो।
आफू एक कवि हुनुको नाताले पनि अहिलेको समकालीन नेपाली कवितालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?
म अलि अगाडिदेखि जोड्छु, कि जुन बेला यता माओवादी आन्दोलन थियो। त्यसबेला हामीलाई नेपालमा त्यही लेखियोस् भन्ने लाग्थ्यो। त्यसको प्रतिबिम्ब आओस् भन्ने थियो। यो अलिक समयपछि मात्र आयो।
हामीलाई विशेष प्रभाव पारेको चाहिँ ‘सृजनशील अराजक’ले नै हो। यसैबीच मैले चाहिँ दुईखाले कविता देखेको छु। एउटा आन्दोलन चलुन्जेल चुपचाप बस्ने परिवर्तनप्रति आस्था नराख्ने र अर्को चाहीँ आन्दोलमै होमिएर साहित्यलाई फरक तरिकाले प्रस्तुत गर्ने। यसरी दुई धारबीच रहेर वा भिन्न भएर पनि गम्भीर ढङ्गले लेखिरहेका कविहरूले मलाई विशेष प्रभाव पारेका छन्। अहिले एकैसाथ राम्राराम्रा कविहरूले कविता लेखिरहेका छन्।
तपाईं पर्फर्मेन्स पोयट्रीलाई प्राथमिकता दिनुहुन्छ, यो शैली नयाँ पुस्तालाई कवितामा जोड्न हो कि कवितालाई चर्चामा ल्याउन हो? विलियम हेनरी हटसनले भनेका छन् कि कविता पचास प्रतिशत मात्र लेखिन्छ। भनेको कविता त श्रुति विधा पनि हो। श्रुति कविताको संस्कार हो। अगमसिंह गिरीको ‘युद्ध र योद्धा’ पढेर मात्र हुँदैन त्यो प्रस्तुत गर्नकै लागि त्यस्तै संरचनामा लेखिएको हो। यसर्थ कविता तब मात्र सञ्चारित हुन्छ जब त्यो प्रस्तुत गरिन्छ।
आजको दिनमा डफ पोयट्री, हिपअप जेजे आएका छन् यी सबै पर्फर्मेन्स आएको हो। तर फेरी स्याल्म्प भनेको चाहिँ पोयट्री होइन। स्याल्म्पको शाब्दिक अर्थ कन्टेस्ट अर्थात् प्रतिस्पर्धा भन्ने हुन्छ। पर्फर्मेन्स पोयट्री भनेको चाहिँ स्याल्म्प जस्तो होइन। यो आजको युवापुस्ताले बुझ्न जरुरी छ।
तपाईं कविताको गहन अध्येता पनि हुनुहुन्छ, यहाँलाई प्रभाव पारेका स्वदेशी एवं विदेशी कविहरू को–को हुन्?मञ्जुल, वैरागी काइँला, ईश्वर वल्लभ, पारिजात मलाई मन पर्ने कविहरू हुन्। एकदमै मन पर्ने चाहिँ विमल निभा। समकालीन नेपाली कवि लेखकहरूमा भूपिन, अभय श्रेष्ठ, सरिता तिवारी, सरस्वति प्रतिक्षा, विनोदविक्रम केसी लगायतका युवा एवं नयाँ पुस्ताका कविहरू पनि मन पर्छन्।
दार्जिलिङबाट चाहिँ मनोज बोगटी, निमा शेर्पा, मोहन ठकुरी, भुपेन्द्र सुब्बा, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा लगायतका कविहरू मन पर्छन्।विश्व साहित्यमा चाहिँ पाब्लो नेरुदा, सिल्भिया प्लाथ, नाजिम हिक्मत लगायतका साहित्यकारहरू मन पर्छन्।
भारतभरी भारतीय (हिन्दी) साहित्यको दबदबा देखिन्छ। समग्र भारतीय साहित्यको विश्व परिदृश्यमा चाहिँ स्थिति कस्तो छ?रविन्द्रनाथ ठाकुरले जब नोबेल साहित्य पाए, त्यसपछि त भारतीय साहित्यको पहिचान विश्वमा भएको छ। यसपछि पनि प्रेमचन्द, रस्किन बोन्ड लगायत धेरे राम्रा लेखक भारतमा उदाएका छन्। जुन हिसाबले स्पेनिस, रसियन र अङ्ग्रेजी भाषाको स्थान विश्व साहित्यमा छ त्यसरी हिन्दी भाषाको छैन।
तर सिङ्गो भारतीय साहित्य त धेरै थरी भाषा–भाषिका र संस्कृति मिलेर बनेको छ। यसले गर्दा भारतीय साहित्य भन्ने बित्तिकै हिन्दी मात्र बुझ्नु ठीक होइन।
भनेपछि भारतीय साहित्यमा पहिचानको संकट छ ?हो, भारतीय साहित्य र भारतीय–नेपाली साहित्यमा पहिचानको ठूलो संकट छ। भारतीय साहित्य भनेर जे बुझिन्छ त्यो त एउटा भ्रम मात्र हो। सिङ्गो साहित्य त्यसमा पाइँदैन। यसैले पनि भारतीय साहित्य जुनसुकै बेला चुँडिन सक्छ। यद्यपि धेरै तत्त्वहरूले भारतको एकतालाई जोडेकै छ। तर साहित्यमा भने यो कमजोर भइरहेको देखिन्छ।