फोटोग्राफर मीनरत्न ब्रजाचार्यको एकल फोटो प्रदर्शनी शनिबारदेखि सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सृजनागृहमा गरिएको फोटो प्रदर्शनीमा ब्रजाचार्यले विगत तीनदशकदेखि खिचेका करिब एकसय वटा तस्वीर राखिएका छन्।
‘मीनरत्न ब्रजाचार्यर्ज मुड्स एण्ड मुमेन्ट’ नाम दिइएको प्रदर्शनीको उद्घाटन शनिबार गरिएको हो। उद्घाटन समारोहमा बोल्दै प्रदर्शनी संयोजक दिपेन्द्र ब्रजाचार्यले फोटोग्राफर मीनरत्न ब्रजाचार्य अति नै सरल हृदयको व्यक्ति भएकाले उनले खिच्ने तस्वीर जीवन्त रहने बताए।
‘आफूले लेन्सले भन्दा पनि सेन्सले फोटो खिच्ने मीनरत्नको भनाइ यथार्थ रहेको छ’, दिपेन्द्रले भने। यस्तै प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ रेडियोकर्मी मणी राणाले मीनरत्नको फोटोग्राफी अन्तर्राष्ट्रिय जगतले चिने पनि नेपालले चिन्न नसकेको कुरा औंल्याए।
प्रदर्शनीको अवलोकनपछि पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले मीनरत्नको फोटोहरू राष्ट्रिय गौरवको विषय रहेको बताए। फोटो प्रदर्शनी असार महिनाको पहिलो हप्तासम्म चल्ने आयोजकले जनाएको छ।