‘घरभेटीको जीवननाच’ हेरेपछि मभित्रको मान्छेले बारम्बार मलाई सरापिरहेको छ। मसँग पनि यस्ता विक्षिप्त, एक्ला, जीवनदेखि विरक्तिएका धेरै पात्र थिए र होलान्। देखेको नदेखै गर्ने मेरो चेतना आज पानी–पानी भयो। नियतिको थुंगाले हानेका तिनै पात्रजस्तै आज म कताकता दूर्घटित भएँ।
कथाकार महेश पौड्यालको एघारौं कृति ‘त्यसपछि फुलेन गोदावरी’ को ‘दृश्यान्तर’ कथाको जीवननाच नाच मध्येकै फरक र उत्कृष्ट। बीसवटा कथा रहेको यस संग्रहका सबै कथामा एक्ला र विक्षिप्त पात्रलाई केन्द्रमा राखेर उनीहरूको दमित, कुण्ठित मनोविज्ञान प्रस्तुत गरेर पनि जीवनमा आशा त्यान्द्रो चुँडिन दिएको छैन।
‘नर्सरी, निदाल र सिकारी बालक’ कथा पुरुष मनोविज्ञानमा आधारित कथा हुन्। सानो नातिलाई आफूजस्तै कठोर पुरुष बनाउने हजुरबाको सपना तुहिएको छ। हजुरबाको कठोरताबाट भागेको नाति कोमल पुरुषको प्रतीक हो। पुरुषको पनि हृदय हुन्छ। मानवीय संवेगले हाँस्न र रुन बन्देज गरेको छैन तर समाज पुरुषलाई क्रुर र हत्यारा बनाइरहेको छ। यो पुरुष मुक्तिको कथा हो। त्यस्तै ‘नर्सरी’ मा सन्तान गुमाएको पुरुषको बेचैनी र छटपटी सघन भएर आएको छ।
नेपालको पञ्चायति शासन व्यवस्थालाई नै टक्कर दिने सन्ध्यारानी कथाभरिकै उत्कृष्ट नारी पात्र हो। सन्ध्यारानीले आत्महत्या गरेकी छ तर समाजको शान बचाएर मरेकी छ। उ गइ तर नारी विद्रोहको विगुल फुकेर गई। संग्रहभित्रका ‘उनी योगमाया भइन्’, ‘लामबद्ध प्रतिघात’, ‘दृश्यान्त’ र ‘काकी’ शीर्षकका कथा महिला मनोविज्ञान केन्द्रित छन्।
‘लामबद्ध प्रतिघात’ कथामा आमा र छोरी मार्फत् हाम्रो सामाजिक विघटन देखाइएको छ। यसमा देखावटी र कृत्रिमताको पछाडि लाग्ने युवा पुस्ताले न आफू न समाजलाई नै सही दिशा दिन सक्छ भन्ने सन्देश छ। ‘काकी’ विसंगत जीवनको उत्कृष्ट नमुना हो। चोटमाथि चोट परेपछि मान्छे रुन पनि नसक्ने तथ्य कथामा छ। कथामा नारी पात्रहरू समाजमा स्थापित रुढ मान्यताका विपरित देखिन्छन्।
वर्गसंघर्षका विषयमा आवाज उठाउनुे अर्काे विशेषता हो। संग्रहमा ‘पर्खाल र परेवा’, ‘ पौड्यालका अदालतबाहिर’, ‘भुवन’ र ‘क्रान्तिवीर’ जस्ता कथाले वर्गीय प्रतिनिधित्व गरेका छन्। उच्च र निम्न वर्गको टकराव देखाएर निम्न वर्गप्रति सहानुभूति राखेका छन्।
पौड्यालका कथा अधिनस्थ पात्रका पक्षमा छन्। कथाबाट धनले मन जित्न नसक्ने निष्कर्षमा पुगिन्छ। ‘पर्खाल र परेवा’ कथामा धनको पर्खालले छिमेकीको कोमल मन छोपएिको छ। मानवीयता त्यही पर्खालको डिलमा रोएको छ।
‘अदालतबाहिर’ कथामा धनको सिकार निर्दाेष बालबालिका भएका छन्। अन्धो सामन्तवादले समाजलाई विखण्डनमा फसाउने सन्देश कथामा छ।
‘भुवन’ कथामा वर्गसंघर्ष देखाउँदै पुरुष मनोविज्ञान प्रस्तुत छ। विपन्न वर्गलाई छिःछि र दुरदुर गरेर ती व्यक्तिलाई रोगी र बौलाहासम्म बनाउने सामन्त चरित्रको चित्रण कथामा पाइन्छ।
‘लौरो’ र ‘कर्णालीको पल्लो किनार’ कथामा हाम्रो समाजका लोकविश्वासका कुरा सघन भएर आएका छन्।
कथामा दृष्टिविहीन बूढाले आफ्नो टेक्ने लौरो चोरिँदासम्म भगवानप्रतिको आस्था नमार्नु, मर्न लागेकी हजुरआमा कसरी नदी तर्लिन् भन्ने चिन्ताले माझीको सहारा लिई आफैं कर्णाली तरेर हेर्नु विश्वासका कुरा हुन्।
‘त्यसपछि फुलेन गोदावरी’ अन्धकारभित्र उज्यालोको खोजी हो। बन्दुकहरू बरु हावामै पड्किऊन् तर पुरुष मानिस भएर बाँच्न पाउनु पर्छ भन्ने सकारात्मक सन्देश ‘सिकारी’ कथामा छ।
गोदावरीको बगैँचा नाश गरेर अन्धकार हटाउने प्रयत्न भएको छ। खराब वस्तु जतिसुकै पुजनीय भएपनि वा गोदावरी फूल जस्तै भएपनि समाजका निम्ति घातक भएको सन्देश समग्र कथामा पाइन्छ।
दुःख सत्य हो। हामी दुःखबाट भाग्न सक्दैनौं तर दुःखी, गरिब, भोका, नांगा र विक्षिप्त पात्रलाई सहयोग गर्न किन डराउनु?
त्यस्ता पात्र पनि पूर्णिमाको जून जस्तै हुने र तिनीहरुभित्र कहीँ नै कतै मानवीय संवेग रहने भएकाले सम्मानपूर्ण व्यवहार गर्नुपर्नेमा जोड उनले दिएका छन्।
कथामा दुखद् र पीडाजन्य अभिघात आएका छन्, र कतिपयको अन्त्य दुखान्त छ। दुःख सर्वसम्मत सत्य भए पनि यसभित्र आशाका किरण लुकेका हुन्छन् भन्ने दृष्टिकोण ‘त्यसपछि फुलेन गोदावरी’को मूल सन्देश हो।
जीवनभरि नाच मन भएर पनि समाजका सामु नाच्न नसकेकी एउटी विक्षिप्त पात्रलाई जीवननाच नचाएर कथाकारले ठूलै न्याय गरेका छन्।