शब्दभन्दा बढी ‘बोल्ड’ तस्बिरका लागि चर्चित ‘प्लेब्वाइ’ पत्रिकाका संस्थापक ह्यू हेफनरको निधन भएको छ।
९१ वर्षीय हेफनरको बुधबार निधन भएको पत्रिकाले बयान जारी गरी जानकारी दिएको हो।
सनन् १९२६ अप्रिल ९ मा शिकागोमा जन्मिएका हेफनर पहिले अमेरिकी सेनामा लेखक थिए। पछि उनले मनोविज्ञानमा ग्रयाजुएसन गरेका हुन्।
विश्वमै पुरुषहरुबीचमा सबैभन्दा बढी बिक्ने ‘प्लेब्वाइ’ पत्रिका हेफनरले सन् १९५३ मा आफ्नो भान्सा कोठाबाट प्रकाशन सुरु गरेका थिए। कुनै बेला यो पत्रिका मासिक ७० लाख प्रति बिक्थ्यो।
पत्रिका प्रकाशन गर्न उनले ८ हजार अमेरिकी डलर ऋण लिएका थिए र उनकी आमाले १ हजार डलर सहयोग गरेकी थिइन्। पहिलो अंकमै उनले हलिउडकी चर्चित मोडल एवम् अभिनेत्री मर्लिन मुनरोको तस्बिर छापेका थिए। बिक्री कस्तो हुन्छ भन्नेमा अलमल परेका हेफनरले पहिलो अंकमा मिति छापेका थिएनन्।
मर्लिन मुनरोले सन् १९४९ मा क्यालेन्डरका लागि खिचाएको नग्न तस्बिर हेफनरले २०० अमेरिकी डलरमा किनेर छापेका थिए।
पहिले प्लेब्वाइको लोगोमा खरायोको कान लगाएकी वेट्रेसको तस्बिर थियो। अहिले भने ‘बो’ टाइ लगाएको खरायोको टाउको छ।
प्लेब्वाइ विस्तारै पुरुषहरुको पहिलो रोजाइको पत्रिका बन्न थाल्यो। महिलाहरु यसको बाहिरी पृष्ठमा आफ्नो नग्न तस्बिर छाप्न लालायित हुन थाले। यसमा मोडल तथा अभिनेत्रीको तस्बिर छापिएपछि उनीहरुको चर्चा चुलिने मान्यता बसिसकेको थियो। कयौं अभिनेत्रीले त आफ्नो डुब्दै गरेको करियर जोगाउन यही पत्रिकाको सहारा लिएको पनि बताइन्छ।
पछि यसका सामग्रीबारे निकै आलोचन हुन थाल्यो। यसलाई ‘डर्टी म्याग्जिन’ को संज्ञा दिइयो। जिम्मी कार्टर र मार्टिन लूथर किङ जस्ता हस्तीलाई प्लेब्वाइमा समावेश गरेपनि यसले फोहोरी पत्रिकाको छवि हटाउन सकेन।
यसको बिक्री बढ्दै गएपछि धार्मिक गुट र महिला अधिकारकर्मीहरुले यसमा निकै औंला उठाए।
यसका बावजुद आफ्नो रफ्तारमा दौडिरहेको प्लेब्वाइ इन्टरनेटको पहुँच सहज भएसँगै थाक्दै गएको हो। तर, यसको ‘चार्म’ जति छ, सायदै अरु कुनै पत्रिकाको होला।
[caption id="" align="alignnone" width="992"]
हेफनर मोडलहरूसँग।[/caption]
आज प्लेब्वाइ ब्रान्डका कपडा र परफ्यूम उत्तिकै लोकप्रिय छन्। पत्रिका प्रतिबन्ध गरिएका देशमा पनि यो ब्रान्डको बजार ठूलो छ। प्लेब्वाइमा बलिउड अभिनेत्री पनि समावेश भइसकेका छन्। यसमा पहिलो कदम शर्लिन चोपडाले चालेकी थिइन्। आफू नग्न भएर पत्रिकाका लागि तस्बिर खिचाएको उनैले सन् २०१२ मा जानकारी दिएकी थिइन्।
यसपछि प्लेब्वाइले भारतकै गोवामा क्लब खोल्ने योजना बनाएको थियो जुन सरकारले खारेज गरिदियो।
हेफनरले प्लेब्वाइलाई कहिल्यै यौन पत्रिका भनेनन्। उनी भन्थे, ‘यो कुनै सेक्स म्याग्जिन होइन, जीवनशैली पत्रिका हो, जसमा यौन मात्र एक जरुरी हिस्सा हो।’
प्लेब्वाइ जति विवादित रह्यो हेफनरको जीवन पनि। एकपटक उनले १ हजारभन्दा बढी महिलासँग यौनसम्पर्क राखेको दावी गरेका थिए। ६३ वर्षको उमेरमा उनले २७ बर्षीया किम्बर्ली कोंरोडसँग विवाह गरेका थिए जसबाट उनीहरुका दुई सन्तान छन्। उनीहरुको विवाह भने १० वर्ष मात्र टिक्यो।
पछि हेफनरले सन् २०१२ मा आफूभन्दा ६० वर्ष सानी क्रिस्टल ह्यारिससँग विवाह गरे। यो उनको तेस्रो विवाह थियो।
हेफनरले एकपटक भनेका थिए, ‘म टफी (चक्लेट) को पसलमा उभिएको एक बच्चा हुँ। म वास्तविकताभन्दा धेरै परका सपना देख्छु। म यो ग्रहकै सबैभन्दा खुसी र भाग्यशाली व्यक्ति हुँ।’