सोनाम ल्होसार मनाउने भक्तजनको भीड लुम्बिनीमा लागेकोबेला साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार यहाँस्थित पक्लिहवा हाइस्कुलको प्रांगणमा आफूलाई प्रस्तुत गरेको छ। जतिबेला तामाङ समुदायले आफ्नो मुख्य पर्व मनाइरहेको थियो त्यतिबेलै भैरहवाको मैदानमा हिउँको वर्षातसहित तामाङबहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेडाको ऊनजस्तो’ बजिरहेको थियो।
यो कन्सर्टसँगै पूर्वी कुना झापाबाट सुरुभएको यसपटकको नेपथ्य यात्रा पश्चिमको अनुभवका साथ विश्राम लिएको छ। सिंगो पश्चिमी पहाडी भेगको नाका भएकै कारण भैरहवासँग नेपथ्य जोडिएको छ गोर्खाभर्तीदेखि शिक्षा, स्वास्थ्य, तीर्थहुँदै जीविकाका अनेक अवसरका निम्ति द्वार रहँदै आएको यो ओहोर–दोहोर मार्ग पश्चिमेली लोकभाकासँग पनि जोडिँदै आएको छ। त्यसबाहेक नेपथ्यकै कतिपय सदस्यको विगत यो सिमावर्ती सहरमा बितेको थियो। यी सबै कारणले गर्दा भैरहवा कन्सर्ट एक किसिमले आत्मीय पनि बन्न पुग्यो।
‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन् नेपथ्य पनि उसैगरी जोडिएको छ,’ कन्सर्टको अघिल्लो साँझ मात्र यहाँका आमा समूहले गरेको स्वागत कार्यक्रमबाट फर्केपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङ भनिरहेका थिए, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितारवादक निरज गुरुङको थलो हो।’
ब्याण्डको संघर्षकालीन क्षणमा समेत यस सहरमा कन्सर्ट गर्दाका टन्नै अनुभवहरु बोकेको नेपथ्यले यसपाला भने पहिलोपटक खुला आकासमुनी विशाल चौरमा आफूलाई प्रस्तुत गरेको थियो।
निर्धारित समय अनुसारै बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएको थियो। अन्यत्रझैँ यहाँ पनि प्रारम्भ म्युजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो।
त्यसको लगत्तै नेपथ्य टोली मञ्चमा प्रवेश गरेको थियो। ब्याण्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरुप अनुहार हो’ प्रस्तुत गरेको थियो। साढे तीन दसकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुई पोखरेली तन्नेरीहरु सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको हो। पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको दसौं अल्बममा समावेश छ।
त्यसपछि सोनाम ल्होसारको मुडलाई अवाज दिँदै ‘भेडाको ऊनजस्तो’ सुनाउँदा मैदानभरिका तन्नेरीहरु उफ्रिरहेका देखिन्थे।
तराइमा यतिखेर शितलहरले गर्दा बेलुकी पक्लिहवा स्कुलको मैदान पनि हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो। यसरी हुस्सु र कुहिरोले ढाकेको अन्धकारमा बत्तीहरुको प्रभावले गर्दा स्टेजदेखि मैदानसम्मै माहोल मोहक पाराले धमिलो देखिएको थियो।
‘अरुबेला हामीले स्टेजमा यस्तो प्रभाव ल्याउन खर्चगरेर कृतिम धुवाँ प्रयोग गर्नुपर्थ्यो,’ ब्याण्डका ब्यवस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भैरहवामा भने प्रकृतिले नै त्यस्तो वातावरण बनाइदियो।’ यसरी सिंगो मैदानलाई हुस्सु र कुहिरोले छेकिरहेको त्यो वातावरणमा त्यसपछिको गीत नेपथ्यको सर्वकालिक हिट ‘छेक्यो छेक्यो’ नै थियो।
‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र श्रोतादर्शक दुवै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए। ब्याण्डको पहिलो गीतका रुपमा औपचारिक घोषणा गरिएको यस गीतलाई प्रस्तुत गर्ने बेलामा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।
‘यो गीत मैले तयारपार्ने बेलामा तपाईंहरु धेरैजना त जन्मनु पनि भएको थिएन,’ दर्शक घेरामा रहेका अधिकांश तन्नेरीहरुसँग ठट्टा गर्दै गायक अमृतले भने, ‘यतिबेला गाइरहँदा मलाई तपाईंकै उमेरको त्यो क्षणमा पुगेको महशुस भइरहेको छ।’
त्यसपछि अमृतले एकपछि अर्कोगर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना अल्बमका गीतहरु सुनाए। कार्यक्रम उत्तरार्धमा पुग्दा चाहिँ एउटा महत्वपूर्ण मोड लियो। अघिल्लो दिन मात्रै भैरहवाको डण्डापारि क्षेत्रमा पैदल हिँड्दा भेटिएका स्थानीय मधेसी समूदायका तन्नेरीबारे अमृतले चर्चा गर्न थाले। आफ्ना प्रशंसकका रुपमा फेलापरेका ती तन्नेरीले उनलाई मनपर्ने गीतहरु दिएकामा अमृतप्रति आभार प्रकट गरेका रहेछन्।
अमृतले तिनै युवकलाई सम्झँदै मुलुकभरका समस्त फरक फरक पहिचानका तन्नेरीहरुमा समर्पण गरेर त्यसपछि गाएको गीत थियो–‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’।
कार्यक्रममा उल्लेख्य संख्यामा मधेसी समुदायका तन्नेरीहरुको उपस्थिति देखिन्थ्यो। तिनैमध्येका एक थिए भोजपुरीभाषी पवन गुप्ता साह। साथीहरुसँग आएका उनी घरि गीतको तालमा झुम्ने त घरि मोबाइलले अगाडिको दृश्य रेकर्ड गर्ने गरिरहेका थिए। भैरहवाकै जोगीबुटीस्थित स्काइ इन्टरनेशनलमा एमबिए अध्ययनरत साहलाई नेपथ्य मनपर्नुको कारण सोध्दा यसका गीतले नेपाली स्वाद समेटेको जवाफ दिए। मातृभाषा बेग्लै हुने समुदायले नेपाली गीतका भाव कसरी टिप्छन् भनेर जिज्ञासा राख्दा उनले उल्टो अचम्म मानेर हेरे।
‘एक त संगीतसँग भाषाको खासै सम्बन्ध हुँदैन,’ नेपथ्यबाहेक अरु पनि केहि नेपाली गायक तथा ब्याण्डका प्रशंसक रहेका पवनले भने, ‘घरभित्र भोजपुरी भाषा प्रयोग गरेपनि म नेपाली हुँ र सानैदेखि नेपथ्यका गीत सुनेरै हुर्केको हुँ।’
पवन यसरी निकै पहिलेदेखि नेपथ्यको ‘फ्यान’ भएता पनि २७ वर्षे सिकन्दर अली भने यो ब्याण्डको पहिलो अनुभव लिँदै थिए। ‘सबैले जताततै नेपथ्य नेपथ्य भनेको सुनेपछि के रहेछ भनेर हेर्न म पनि आएको हुँ,’ ओमसथिया गाउँपालिका–४का सिकन्दरले भने, ‘बच्चा, बुढोलाई मनपर्नेदेखि सामाजिक गीतहरु समेत गाउनु हुँदो रहेछ।’
भैरहवाकै टेन्टहाउस व्यावसायी उनले अब नेपथ्यका कन्सर्टहरु नछुटाइ हेर्ने जानकारी दिए। यता मञ्चमा भने गायक अमृतले ‘रेशम’ र ‘तालको पानी’ सुनाएर दर्शकलाई छमछमी नचाइरहेका थिए।
राजधानीबाहिर स्थापना भएका पुराना मध्ये एक भैरहवास्थित मेडिकल कलेजले पछिल्लो समय देसभरिका विद्यार्थीमाझ साख गुमाउन पुगेकोमा पनि अमृतले चिन्ता प्रकट गरे। केही दिनअघि स्वास्थ्यविज्ञान पढ्ने विद्यार्थीहरुले भैरहवा आउन रुची नदेखाएको सन्दर्भ उल्लेख गर्दै अमृतले त्यस्तो अवस्थाको छिट्टै अन्त्य हुने कामना पनि गरे।
‘त्यस्तो अवस्था नआओस् भनेरै डा. गोविन्द केसी उहिल्यैदेखि काठमाडौंमा अनशन बस्दै आइरहनुभएको छ,’ अमृतले दर्शकहरुलाई अनुरोध गर्दै भने, ‘आउनुस् उहाँको अभियानमा हामीले पनि साथ दिउँ।’
यी भनाइहरु राख्नुअघि नै सुरुभइसकेको ड्रमसेट र गितारको बिटलाई साथ दिँदै त्यसपछि अमृतले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गाउदै दर्शक उफारेका थिए।
अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रमको बिट मारिएको थियो।
सँधैजस्तै मुख्य गायक अमृतलाई यसपटक पनि ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। भैरहवाको कार्यक्रमलाई स्थानीय ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले आयोजना गरेको थियो।