तिलक समलिंगी पुरूष हुन्। उनमा महिलाप्रति यौन आकर्षण छैन। यस्तै अवस्थामा परिवारको करकापमा एक महिलासँग उनको बिहे हुन्छ।
तिलकले आफ्नो कुरा कसैलाई पनि भन्न सकेका हुँदैनन्।
बिहेपछि एक दिन श्रीमतीलाई भन्छन्, 'मलाई महिलाप्रति आकर्षण छैन। मेरो यौन चाहना पुरूषप्रति मात्र छ।'
समलिंगी पुरूषको बिहे र श्रीमतीसँगको उक्त कुरा लघु फिल्म 'नीलो फूल' को कथाको एक अंश हो।
फिल्ममा श्रीमतीसँग उक्त संवाद बोल्ने व्यक्ति हुन् कलाकार सागर घिमिरे। उनले तिलक नामक समलिंगी पुरूष पात्र बनेर अभिनय गरेका छन्।
सागरका अनुसार श्रीमतीसँगको उक्त संवाद एकै 'टेक' मा फाइनल भएको थियो। फिल्ममा उनलाई सबैभन्दा धेरै मनपरेको संवाद पनि यही हो।
उनले भने, 'यो शट पहिलो टेकमै फाइनल भएको थियो।'
फिल्ममा सागरले अनुहारको हाउभाउ र आवाज कथामा कल्पना गरिएको पात्रसँग मिलाउनुपर्थ्यो। आँसु पनि निकाल्नुपर्ने थियो। आँसु निकाल्नेबाहेक हाउभाउ, आवाज र संवाद सबै एकएक टेकमै फइनल हुँदै गयो। सुटिङ पाँच दिनमै सकियो।
सुनीलबाबु पन्त र प्रद्युम्न मिश्रको संयुक्त निर्देशनमा बनेको ३९ मिनेटको नीलो फूल गत माघ २६ गते प्रिमियर भएको थियो। यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीक्युआइए-प्लस) का सदस्यको र पितृसत्तात्मक सोचले महिलामाथि हुने हिंसाको कथा देखाएको छ।
यो कथामा देखिएका सागरको यो पहिलो फिल्म हो। कला क्षेत्रमा अवसर खोज्दै उनी विराटनगरबाट काठमाडौं आएका थिए।
विराटनगरमै जन्मेहुर्केका सागर आमाबुबाका कान्छा छोरा हुन्। उनलाई बाल्यकालदेखि नै अभिनय गर्न रूचि थियो। स्कुलका शिक्षकहरू उनलाई भविष्यमा कलाकार बन्छौ भन्थे। प्लस-टु पढाइ सुरू भएपछि उनमा कलाकार बन्ने हुटहुटी बढ्यो। नेपाली सिने क्षेत्रमा नयाँनयाँ कलाकारहरू देखिन थालेका थिए। उनी आफू पनि फिल्मी कलाकार बन्न हौसिँदै गए।
'फिल्ममा नयाँ कलाकारहरू देखिन थालेपछि मेरा लागि पनि ठाउँ हुन सक्छ भन्ने लाग्यो। अवसरको खोजीमा काठमाडौं आएँ,' उनले भने।
उनले मोडलिङबाट अघि बढ्ने सोचे।
स्नातक पढाइ र मोडलिङ एकसाथ अघि बढाउने लक्ष्य बोकेर उनी काठमाडौं आए। सोचेजस्तो सजिलो भने भएन। एकदिन सामाजिक सञ्जाल हेर्दै जाँदा मोडलिङ अवसरको सम्भावना देखे। सानो प्रयास गरेका थिए, फोटो सुट गर्न खबर आयो। त्यहाँ पनि भएन। पर्दापछाडिको काम पाए। तर त्यहीँबाट अवसरको ढोका खुल्न सक्ने ठानेर धैर्य गरे।
पर्दा पछाडिको काम गर्दागर्दै बिस्तारै चिनजान बढ्दै गयो। उनले फिल्म र भिडिओका लागि आवेदन दिन सुरू गरे। नभन्दै विज्ञापनमा मोडलिङको अवसर पाए।
'सुरूका दिनमा नयाँ कलाकारलाई निकै कठिन हुन्छ,' उनले भने, 'निर्देशकहरू नयाँ अनुहार बजारमा चिनाउन गाह्रो हुने ठान्छन्।'
कतै त अभिनयको अवसर दिएबापत उल्टै पैसा माग्ने पनि भेटे।
'फिल्ममा अभिनयको अवसर दिन्छु, कति पैसा दिन्छौ भन्ने पनि भेटेँ,' उनले भने, 'पैसा तिर्नुभन्दा त पढाइमै केन्द्रित हुन्छु भन्ने लाग्यो।'
भित्री मनको इच्छा त्यति सजिलै किन मेटिन्थ्यो! प्रयास गरिरहे, म्युजिक भिडिओमा अभिनय गर्ने अवसर पाए। समय यस्तै उस्तैमा चल्दै थियो।
आठ वर्षअघि संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रममा उनको भेट सुनीलबाबु पन्तसँग भयो। प्रविधिका विद्यार्थी सागर राष्ट्रसंघका कार्यक्रममा सहभागी भइराख्थे। सुनीलबाबुले सागर मोडलिङ पनि गर्छन् भन्ने थाहा पाए।
सुनीलबाबु 'नीलो फूल' निर्देशन गर्दै थिए। उनले सागरमा फिल्मको मुख्य पात्रको अनुहार देखे। भेटको दिन चिनजान भयो। गफ भयो। फिल्मको कुरा भएन।
एकदिन सुनीलबाबुले सागरलाई फोन गरे। फिल्मबारे जानकारी गराए अनि तिलकको भूमिकामा अभिनय गर्न आग्रह गरे। म्युजिक भिडिओमा अभिनय गरे पनि सागर फिल्ममा खेल्न तयार थिएनन्। खासमा उनलाई आफू फिल्मका लागि योग्य भइसकेको छैन भन्ने लागेको थियो।
तर नीलो फूलको कथाले तान्यो। मुख्य पात्रको भूमिका हुने भएपछि आँट गरे।
आखिर फिल्म उनलाई खोज्दै आयो, न उनले आवेदन गर्नुपर्यो न कसैलाई आग्रह!
उनले भने, 'क्यामरा फेस गरिसकेको भए पनि म फिल्ममा जान योग्य छैन जस्तो लागेको थियो। सर (सुनीलबाबु) ले वर्कशप पनि गराउने भनेपछि आँट आयो। अनि ओके गरेँ।'
म्युजिक भिडिओमा अनुहारको हाउभाउले पुग्थ्यो, फिल्ममा हाउभाउसँगै संवाद पनि बोल्नुपर्थ्यो। उनले दस दिन अभिनय कक्षा लिए। यसले उनलाई कथामा भिज्न सहयोग गर्यो। घरमा पनि स्क्रिप्ट पढ्दै अभ्यास गरे। पर्याप्त अभ्यासले होला, उनका संवाद फटाफट 'ओके' भए।
सागरका लागि नीलो फूल अभिनय सुरू गर्ने माध्यम मात्र बनेन, उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे पनि धेरै जानकारी पाए। यो समुदायका व्यक्तिको भावना बुझे।
'पहिले त यो समुदायको व्यक्ति भन्ने थाहा पाउँदा भित्र कतै डर लाग्थ्यो,' उनले भने, 'यही फिल्म खेल्ने क्रममा त्यस्तो डर हट्यो। मैले गलत सोचेको रहेछु भन्ने बुझेँ। अझ यो समुदायका व्यक्तिसँग घुलमिल गर्ने, कथाव्यथा सुन्ने मौका पाएँ। अहिले उहाँहरू सबै आफ्नै मान्छे जस्तो लाग्छ।'
फिल्म प्रदर्शनपछि सागरलाई पनि धेरैले समलिंगी पुरूष ठाने। धेरैले सोधिखोजी गरेको उनी बताउँछन्।
उनी भन्छन्, 'समलिंगीको कथा भन्न समलिंगी नै हुनुपर्छ भन्ने छैन। मनदेखि नै काम गर्न चाह्यो भने जसले पनि राम्रो अभिनय गर्न सक्छ।'
उनमा आफ्नो अभिनयले पात्रलाई जीवित राख्न सक्छु कि सक्दिनँ भन्ने पनि डर थियो। दर्शकले मनपराए। राम्रै गरेछु भन्ने लागेको छ।
नीलो फूल काठमाडौं, बुटवल, हेटौंडा, विराटनगर लगायत सहरमा देखाइएको थियो। गत फागुन १८ गते उनी हटौंडा पुगेका थिए। त्यहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिसँग भेट भयो।
सागरलाई एक दर्शकले भने– मेरो भोगाइ पनि फिल्म (नीलो फूल) को जस्तै भएको थियो। तपाईंको अभिनय हेरेपछि मैले मलाई नै सम्झिएँ।
उनलाई लाग्यो– मैले गरेको जस्तो कथा त धेरैको रहेछ।
'मलाई अभिनय गर्न त गाह्रो भएको थियो, उहाँहरू वास्तविक जीवनमा यस्तो समस्यामा हुनुहुन्छ। उहाँको कुरा सुन्दा एक किसिमले नराइलो पनि लाग्यो,' सागरले भने।
आफ्नो पहिलो अभिनयमै यसरी खास समुदायको कथा भन्न पाएकामा उनलाई खुसी लागेको छ। पहिलो फिल्म भएकाले धेरै चुनौती थियो। फिल्ममा सुरूदेखि अन्त्यसम्म नै भावुकता चाहिएको थियो। रिसाउने, आँसु खसाल्ने, अनुहारको हाउभाउ सबै स्वाभाविक देखाउनुपर्थ्यो। यो फिल्म 'नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' मा पनि प्रदर्शन भएको थियो। त्यहाँ पनि उनले दर्शकको प्रतिक्रिया सुने।
'दर्शकको प्रतिक्रिया सुन्दा राम्रै गरेछु भन्ने लाग्यो,' सागर भन्छन्।
उनका आमाबुबाले पनि यो फिल्म हेरे। छोराको अभिनय मनपराए। अझै राम्रो गर्नू भने। आमाबुबाको खुसीले सागरलाई हौसला मिलेको छ।
नीलो फूलले आफ्नो लागि अवसरको ढोका खोलिदिएको उनको भनाइ छ।
भन्छन्, 'अब कलाकारिता फराकिलो बनाउन चाहन्छु। जनजागरणका सामाजिक विषयमा आधारित फिल्ममा अभिनय गर्ने रूचि छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी