कानुनी झमेलामा फसेको फिल्म 'प्रसाद २' को प्रदर्शनको बाटो खुलेको छ।
चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो।
निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २१ गते अन्तरिम आदेश दिएको थियो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएको हो।
उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। आफूलाई निर्माता बनाउँछु भनेर ठगी गरेको भन्दै केशव पाण्डेले 'प्रसाद २' का निर्माता सुवास थापाविरूद्ध रिट हालेका थिए।
थापाले निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा गत फागुन २९ गते जाहेरी दिएका थिए। तर निर्माता थापा फरार छन्।
फिल्म प्रदर्शनको बाटो खुला भएसँगै कहिले प्रदर्शन हुन्छ भन्ने प्रश्न आइरहेको थियाे। निर्देशक सुदर्शन थापाका अनुसार यो फिल्म वैशाखमा प्रदर्शन गर्न तयारी छ।
‘हामीले फिल्म वैशाखमै प्रदर्शन गर्ने सोचेका छौं। निर्माण टिमसँग छलफल गरेर छिट्टै नयाँ प्रदर्शन मिति तय गर्छाैं,’ उनले सेतोपाटीसँग भने।
राजनीतिक र सामाजिक कथाको फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ।
विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।