निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म 'दिमाग खराब' बनाउने भएका छन्।
यो फिल्म तिहारको अवसर पारेर कात्तिक २४ गते प्रदर्शन हुने भएको छ। ‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित हुने फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हालेको निश्चलले जानकारी दिए।
उनी ‘लुट २’ पछि निर्देशनमा फर्किन लागेका हुन्। ‘लुट २’ २०७४ सालमा प्रदर्शन भएको थियो।
‘मैले पहिल्यैदेखि फिल्मको कथा चित्त बुझ्यो भने मात्रै निर्देशन गर्छु भनेर सोचेको थिएँ,’ उनले सेतोपाटीसँग भने।
फिल्मको कथा आकाश बरालले तयार पारेका हुन्। निर्देशक बस्नेतका अनुसार फिल्म सोसल ड्रामा जनरामा बन्नेछ।
रौनकविक्रम कँडेलले निर्माण गर्ने फिल्ममा अहिलेसम्म कलाकार तय भइसकेका छैनन्।
बस्नेतले ‘लुट’ बाट निर्देशनमा डेब्यू गरेका थिए। उनले डेब्यू निर्देशकीय फिल्मबाट निकै चर्चा कमाएका थिए। यस फिल्मलाई नेपाली फिल्म क्षेत्रकै टर्निङ प्वाइन्टको रूपमा हेरिएको थियो।