चर्चित भारतीय टिभी जिटिभीले वर्षेनी गर्दै आएको बलिउड फिल्म अवार्ड- 'जी सिने अवार्ड' यस वर्ष नेपालमा गर्ने भएको छ।
अवार्ड नेपालमा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली नेपाल आएको हो ।
शनिबार टोलीले प्रधानमन्त्री ओलीसँग प्रमनिवास बालुवाटारमा भेट गरेको थियो। टोलीमा एम.पी सुभाष चन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक एक्स एम.पीर तथा नायिका जया प्रदा आदि सहभागी थिए ।
भेटमा सुभाष चन्द्रले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाण्डौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत सो भेटमा गरेका छन्।
भेटअघि भारतीय समुह फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताएका थिए ।
उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको जानकारी प्रम ओलीसँगको भेटघाटमा गराए ।
शनिबार साँझ आफूलाई भेट्न आएको सो टोलीलाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै जी सिने अवार्ड समारोहकै अघिपछिको मिति पारेर काठमाडौंमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणासमेत गरे।
जी टेलिभिजनको टोलीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै वरिष्ठ कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, प्रदेश सभा सदस्य तथा गायिका कोमल वली, गीतकार सम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सिलगायतको उपस्थिति रहेको थियो ।