फ्लोरमा जान एक साता बाँकी रहँदा 'गोपी'का शीर्ष कलाकार परिवर्तन भएका छन्। 'पशुपति प्रसाद' फेम खगेन्द्र लामिछानेलाई 'गोपी'को शीर्ष भूमिकामा अनुबन्धन गरिएको सो भूमिकामा अब विपिन कार्कीले अभिनय गर्नेछन्।
फिल्म भदौ १ बाट फ्लोरमा जाँदै थियो। केहि दिन अगाडी मात्र अभिनेत्री वर्षा शिवाकोटीले पनि फिल्म छाडेकी तिइन। फिल्ममा उनको सट्टा वर्षा राउतलाई अनुबन्ध गरिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण पक्षले 'रचनात्मक मतभिन्नता'का कारण खगेन्द्रले फिल्म नगर्ने बतायो।
फिल्मलाई 'घामपानी' निर्देशक दीपेन्द्र लामाले निर्देशण गर्दैछन्। निर्माण पक्षले शीर्ष कलाकारको परिवर्तनले पूर्व निर्धारित सुटिङ तालिकामा केहि दिन पर धकेलिएको बताएको छ। निर्माण पक्षका अनुसार फिल्म ३ गतेबाट फ्लोरमा जानेछ।
शीर्ष भूमिकामा अनुबन्ध भएका विपिनले फिल्मको कथाले तानेकाले आफू फिल्ममा जोडिएको बताए।
'म सधैं फिल्म गर्नु अगाडि १/२ महिना समय दिन्छु । स्क्रिप्ट राम्रोसँग अध्ययन गर्छु । क्यारेक्टरमा फिट हुन्छु भन्ने लागेपछि मात्र मैले फिल्म गर्ने हो । ‘गोपी’ को हकमा चाहिँ मैले २४ घण्टामा नै स्क्रिप्ट पढेर साइन गरेको हुँ । स्क्रिप्ट मन परेपछि फिल्म छाड्नु हुन्न भन्ने लाग्यो अनि काम गर्न राजी भएँ ', उनले भने।
त्यस्तै अभिनेत्री वर्षाले पनि कथा मनपरेकाले फिल्म गरेको बताइन्।
यस्तै निर्देशक लामाले विपिनको आगमनले फिल्म थप बलियो हुने दाबी गरे। लामाले फिल्मको कथा लेख्दा खगेन्द्रलाई मात्र सोचेर नलेखिएको र सो भूमिका लेख्दा उनीसहित सौगात मल्ल तथा विपिनलाई समेत सोचिएको पनि खुलासा गरेका थिए।
आरोही केसी निर्माता रहेको ‘गोपी’ फिल्मका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् ।
चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।