फिल्म ‘रोजी’को नाम परिवर्तन गरेर ‘रोज’ राखिएको बारे
भदौ २२ को रिलिज मिति नजिकिदैं गर्दा ‘रोजी’ले आफ्नो नाम परिवर्तन गरेको छ । अब फिल्मको नाम 'रोजी'को सट्टा 'रोज' हुनेछ।
रोजी महर्जन हत्याकाण्डमा आधारित फिल्मको रूपमा चर्चामा रहेको सो फिल्ममा महर्जनका बाबुआमाले आपत्ति जनाएपछि निर्माण पक्षले फिल्मको नाम परिवर्तन गरेको हो।
काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।
बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच फिल्मको नाम परिवर्तन गर्ने सहमति गरेका हुन्।
महर्जन दम्पतिले आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित फिल्मको कथा मिलेको दाबी गर्दै आइरहेका थिए। महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै 'रोजी' नाम नराख्न माग राख्दै आएका थिए।
दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने,सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता पनि भएको छ । सहमतीपछि महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता निर्माण पक्षसँग गरेका छन् ।
‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ', नाम परिवर्तन गर्ने सम्झौता पछि फिल्मका निर्देशक निरक पौडेलले भने।
रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफूहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।
फिल्मलाई महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुरी दिएर सुरुमै छायाँकनमा अवरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि अवरोध भएको छायाँकन सुचारु भएको थियो ।
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।