नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन–३ मा सुनील गुरुङले लेखेको ‘द गिफ्ट’ नामक स्क्रिप्ट प्रथम भएको छ । स्क्रिप्टमा माओवादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथा छ।
स्क्रिप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार पनि जितेको छ ।
ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार राजधानीको उडल्याण्डस् होटेलमा पत्रकार सम्मेलन आयोजना गरि विजेता घोषणा गरेको हो ।
विजेता सुनीलले स्क्रिप्ट लेखन प्रतियोगीतामा प्रथम हुँदा आफूले जिन्दगीकै सबैभन्दा ठूलो खुशी पाएको महसुस गरेको बताए । प्रथम घोषित भएपछि केहि भावुक बनेका उनले पुरस्कारले आफूलाई फिल्म लेखनमा ठूलो हौसला र प्रेरणा मिलेको भनाइ राखे ।
कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोजले विजेता सुनीललाई पुरस्कार रकमको चेक प्रदान गरेका थिए ।
अष्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोज अधिकारीको अगुवाईमा सन् २०१२ बाट सुरु भएको स्क्रिप्ट राइटिङ कम्पीटसनको तेश्रो संस्करणमा विभिन्न माध्यमबाट प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रिप्ट प्राप्त भएकोमा उत्कृष्ट ३० छानिएको थियो ।
जसमध्येबाट सुनीलको ‘द गिफ्ट’ सहित रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका छन् ।
नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरि प्रतियोगीता आयोजना गरिएको अधिकारीको भनाइ थियो।
उनले अघिल्ला प्रतियोगीतामा उत्कृष्ट ठहरिएका 'ऋतु' र 'दोष' फिल्म बनिसकेको उल्लेख गर्दै ‘दि गिफ्ट’ पनि छिट्टै फिल्मका रुपमा दर्शकमाझ आउने बताए ।