‘जय भोले’ ले प्रदर्शनको पहिला सातामा लगानी सुरक्षित गरेको दाबी गरेको छ ।
बुधबार पत्रकार सम्मलेन गरेर निर्माण पक्षले १ करोड ३५ लाख निर्माण लागत रहेको फिल्मले रिलिज सातामा ३ करोड २ लाख ७२ हजार २ सय ४९ रूपैयाँको कमाइ गर्दै लगानी सुरक्षित गरेको बताएको हो।
फिल्म वितरक कम्पनी डिसिएनकी वितरण तथा बजार प्रमुख सीता मैनालीले सोमबारसम्म फिल्मले गरेको कमाइ भन्दै उक्त रिपोर्ट पत्रकार सम्मेलनमा बताएकी थिइन्।
डिसिएन अशोक शर्माको साझेदारीमा रहेको फिल्म वितरण कम्पनी हो।
कमाइ सार्वजनिक गरेपछि बोल्दै फिमका निर्देशक अशोक शर्माले भने, ‘बाह्र वर्षपछि निर्माण र निर्देशनमा फर्किएको हुँ । मेरो लागि यो चलचित्रको व्यापारिक नतिजाले धेरै ठूलो अर्थ बोक्छ । अब ढुक्क भएँ ।’
फिल्म फूलपातीमा रिलिज भएको थियो।
पत्रकार सम्मेनमा निर्देशक शर्माले 'छक्का पञ्जा ३'सँगै एकै मितिमा रिलिज नगर्दा आफ्नो कमाइमा धक्का पुगेको बताए।
'घटस्थापनामा रिलिज भएको फिल्मले रिलिजपछि राम्रो प्रतिक्रिया बटुल्यो। त्यसैले उसको व्यापार राम्रो भयो मेरो फिल्मलाई पिकअप लिन केहि समय लाग्यो। एउटै मितिमा रिलिज भएको भए मेरो फिल्मको कमाइ अझै केहि बढि हुनेथियो', उनको भनाइ थियो।
त्यस्तै पत्रकार सम्मेलनमा अबको कमाइ नाफाको हुने बताए।
फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मले जय र भोलेको नामका दुई साथीको मित्रता र वैमनश्यताको कथा भन्छ।