२८५५ औं सोनाम ल्होछारको सन्दर्भ सहित यो पटकको जेसुम यात्रा श्रृङ्खला काठमाडौको बौद्ध स्तुपामा सम्पन्न भएको छ।
विश्व सम्पदा सूचीमा रहेको र २०७२ सालको भूकम्पपछि पुरातात्विक र एतिहासीक सम्पदाहरूको पूनःनिर्माण कार्यहरूमा काठमाडौंमा सबैभन्दा छिटो र पहिले पूनःनिर्माण भएको बौद्ध स्तुपा र भर्खरै सम्पन्न भएको सोनाम ल्होछार तथा बौद्ध दर्शन संस्कृतिसँगै तामाङ समुदायले पूख्र्यौली देखिन अहिलेसम्म पनि बौद्धनाथ स्तुपासँगको सामीप्यतालाई नजिकबाट देख्नु, मनन गर्नु, बहस गर्नु गराउनु उद्देश्य पनि थियो र त्यसमाथि हाम्रै संस्कृति, सम्पदा, सभ्यता र तिनले दिने मौलिक स्वादको महत्वलाई प्रवद्र्धन गर्नु पनि जेसुम अभियानको उद्देश्य थियो।त्यसैले यो पटक बौद्ध स्तुपा हाम्रो रोजाईमा परेको अभियानकी संयोजक अनिता लामाले बताइन्।
जेसुम यात्रीहरूलाई पहिलो प्रहरमै बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्ण कुमार लामा र बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाले स्वागत गरे।
बौद्धको स्थानीयता, बौद्ध स्तुपा स्थापनाको ऐतिहासिक सन्दर्भ, यससँग जोडिएका विभिन्न किंवदन्तीहरू, स्तुपाको संरक्षण, रेखदेख र सञ्चालनका विषयहरूलाई उनीहरूले जेसुम यात्रीका सामु प्रष्ट ढङ्गले व्यक्त गरेका थिए।
अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रमा आएको र विशेष गरी बौद्ध स्तुपा जस्तो पवित्र ज्ञान र ध्यानको स्थल छनोट गरेकोमा धन्यवादसहित जेसुम यात्रीहरूलाई माननीय सांसद कृष्ण राईले स्वागत गरे।
सृजनामा बौद्धनाथ स्तुपाको सौन्दर्य, ऐतिहासीकतासँगै यहाँ आसपासको जनजीवन, स्थानीय पेशा व्यवसाय, सामाजिक विसंगति र पर्यटनको महत्वलाई समेत जोडेर आउनसकोस् भन्ने उनले शुभकामना दिए।
त्यसपछि लगत्तै जेसुम यात्रीहरूले स्तुपामा कोरा लगाउन शुरु गरेका थिए।
‘हामीले हरेक जेसुम यात्रामा कम्तिमा २ घण्टा हाइकिङ गर्ने गरेका छौं। तर, आजको हाइकिङ एक घण्टा बौद्ध स्तुपालाई कोरा लगाइरहँदा यसको धार्मिक र सांस्कृतिक महत्वको साथमा शरीरको स्फूर्ति पनि त छ,’ अभियन्ता फूलमान बलले भने।
‘हिँडेपछि शरीरको ताजगीपन बढ्छ। त्यसपछि आरामले सृजनामा रमाउन पाइन्छ, हाम्रो यात्रा सृजनासँगै भौतिक र मानसिक स्वस्थ्यता सँग पनि सम्बन्धित छ है’, अभियानकी संयोजक अनिता लामाले भनिन्।
त्यसपछि स्रष्टाहरू सृजनामा हराउन थाले। कलाकार एन बि गुरूङ, डिराम पाल्पाली, दिपेन्द्र बनेपाली, विनोदकुमार गुप्ता र डिबी राइले क्यान्भासमा अर्को बौद्धनाथ स्तुपाहरू थप्दै गए।
कवि तथा लेखकहरू एकछिनलाई आ आफ्नैपनमा हराए। करिब डेढ घण्टामा सृजना उतारेपछि प्रस्तुतिको समयमा हौसला दिन आइपुगे बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, पूर्व वडाअध्यक्ष एवं सामाजिक अभियन्ता नेपालजीत लामा, प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, वडाअध्यक्ष दीपेन्द्र लामा, सञ्चारकर्मी वीरबहादुर लामा र सुरज लामा।
यो अङ्कको जेसुम यात्रा बौद्ध तामाङ कल्याण गुठीसँगको सहकार्यमा भएकोले अध्यक्ष अध्यक्ष खड्गजीत लामा र वहाँसँगसँगै क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णजीत लामा कार्यक्रमको बन्दोबस्ती र जेसुम यात्रीहरूको जिज्ञासा शान्त पार्नमा व्यस्त देखिए ।
सृजना प्रस्तुतिको क्रममा कवि फूलमान बलले बुद्ध दर्शन र बौद्धनाथ चैत्यको स्थापना र महत्व दर्शाउने भावमा ‘मलाई माफ गर ज्याजिमा’ कविता सुनाए ।
कवि अनिता लामाले बौद्धनाथ कोरा लगाइरहँदा देखिएको परिदृश्य र स्तुपाको शान्त एकाग्र आँखाको भाव झल्कने कविता ‘नाङसाल’ (बत्ती) शीर्षकमा कविता सुनाइन्।
कवि तथा लेखक विना थिङ तामाङ्गले ‘छ्युमी’ शीर्षकमा, प्राज्ञ एवं कवि शशी लुमुम्बुले ‘आदिम गीत’ शीर्षकमा, छन्द कवि धर्मानन्द भट्टले ‘बौद्ध स्तुपामा सिकेको ज्ञान’ शीर्षकमा, कवि रमेश कँडेलले ‘महाचैत्य बौद्धनाथ’ शीर्षकमा कविता सुनाए।
त्यसै गरी कवि शुक्र राई, विनु पोखरेल, गायत्री ढकाल, वीरबल तामाङ, विपासना पोखरेल लगायतले आ–आफ्ना कविता सृजनाहरु सुनाइरहँदा चित्रकारहरूले आफूले तयार गरेका चित्रहरू पनि प्रदर्शनीमा राखे ।
चित्रकार डिराम पाल्पालीले तयार गरेको बौद्ध स्तुपालाई केन्द्र बनाएर आसपासको घर, लुङ्दरहरूलाई ल्यान्डस्केप गरेको चित्रलाई एक ताइवानी नागरिकले तत्कालै १५ हजार रुपैयाँमा खरिद गरेका थिए।
चित्रकार बनेपालीले बिक्री भएको चित्रबाट रू. तीनहजार जेसुम यात्रा अभियानलाई हौसला स्वरूप प्रदान गरे ।
हौसला दिन उपस्थित जनप्रतिनिधि एवं अतिथिहरूबाट विश्वसामु बौद्ध सम्पदा एक हेर्न र घुम्न लायक ठाउँ मात्र नभई यसको एतिहासीक महत्व, लोकप्रिय किंवदन्तीहरू र यसको सभ्यतालाई समेच चिनाउने, बुझाउने, प्रवद्र्धन गर्ने मनसायले जेसुम यात्राले आफ्नो कला, साहित्य सृजनाको माध्यममा बौद्धनाथलाई सम्झिएकोमा प्रशंसा व्यक्त गरे साथै सकरात्मक दृष्टिकोण निर्माणको ध्येय लिएर हिँडेको सकरात्मकताको यो अभियान सफलताका लागि आफूहरू समेत लागि पर्ने इच्छा र प्रतिवद्धता व्यक्त गरे ।
बौद्धनाथको अध्ययन, अन्वेषण र प्रवद्र्धन आज एकदिनको एकछिनको यो अभियानले टुङ्गिएको छैन, शुरु मात्रै गरियो । हामी यो विषयमा अब भोक जगाउँछौं र फेरि फेरि पनि अवश्य आउँछौं यो ज्ञानको क्षेत्रमा, अभियन्ता लामाले कार्यक्रमले बीट मारिन् ।