नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले अगस्टमा सिनेमाको स्क्रिप्ट लेखन कार्यशाला गर्ने भएको छ ।
कार्यशाला आउँदो अगस्त २१ देखि २७ सम्म मकवानपुरको इन्द्रसरोवर, कुन्साल र चित्लाङ मध्ये कुनै एक ठाउँमा (पटकथा लेखन कार्यशाला) सम्पन्न गरिने कार्यक्रम संयोजक केपी पाठकले जानकारी दिएका छन्।
कार्यशालामा ६० जनालाई सहभागी गराउने आफूहरूको योजना रहेको पाठकले बताएका छन्।
‘अनुभवी फिल्म लेखकहरुबाट प्रशिक्ष दिईनेछ भने यो आवश्यकता देखेर नै आयोजना गर्न लागेका हौ’, पाठकले भने।
हलिउड, बलिउड र चाइनिज सिनेमा लेखकको उपस्थितिमा आयोजना हुने कार्यशालामा सहभागी हुन नेपालीले १० हजार र विदेशीले १ सय ५० डलर शुल्क तिर्नुपर्नेछ।
कार्यशालाको सहजकर्ताको रुपमा रहेकी सिनेमा अनुसन्धानकर्ता सम्पदा मल्ल भन्छिन ‘लेखक प्राय अगाडी आउदैनन् तर उनीहरुको इफोर्ट सफलतामा कोहिभन्दा कम हुँदैन ।त्यसैले यसलाई सुधार्दै अगाडी बढाउनु पर्छ र हामी अपडेट हुनु जरुरि छ जस्तो लाग्छ ।’
सहभागी सबैले कार्यशाला अवधिभर कुनै एउटा कथा लेख्नु पर्नेछ ।
उक्त कथामा कार्यशाला समापन भएको दुई हप्ताभित्र सवैले पूर्ण स्क्रिप्ट बुझाउनुपर्नेछ र सो स्क्रिप्ट मध्येबाट उत्कृष्ट हुने एउटा स्क्रिप्टलाई लघु सिनेमा निर्माणको लागि यस प्रतिष्ठानले रु. एक लाख नगद प्रदान गर्ने संयोजक पाठकले बताए ।
यसरी निर्माण भएको सिनेमालाई नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ)को तेश्रो संस्करणमा सहभागी गराइनेछ ।
त्यसगरी गत दुई वर्षदेखि आयोजना भइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करण २०२० फेब्रअरी १३ देखि १७ सम्म (फागुन १ गतेदेखि ५ गतेसम्म) काठमाडौंमा हुने भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करणको यसै साता पत्रकार सम्मेलनको गर्दै प्रतिष्ठानले जनाएको छ ।
योसँगै यसपटकका अवार्ड विजेतालाई दिइने पुरस्कार रकम पनि वृद्धि गरिएको छ।
फेस्टिभलमा एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटिड फिल्मलाई ७ सय ५० अमेरिकी डलर राशीको मञ्जुश्री अवार्ड, अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीको गौतमबुद्ध अवार्ड, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अर्वाड प्रदान गरिनेछ ।
नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख राशीको नगदसहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजारसहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने अध्यक्ष केपी पाठकले बताए ।
फिचर फिल्मतर्फबाट उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि यही २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म आवदेन दिनु पर्नेछ ।