स्व. बासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ।
बिहीबार राजधानीमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरे ।
वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो ।
उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।
स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए ।
पितालाई सम्झिँदै कार्यक्रममा उनले भने- 'बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । 'मुनाल साँझ' गर्ने, कृतिहरु प्रकाशन गर्ने र सबैभन्दा ठूलो सपना आफ्नो नाममा पुरस्कार प्रदान गर्ने थियो । उहाँको त्यो सपनामध्ये एउटा सपना पूरा गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला 'मुनाल' सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।'
कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो।
स्वर्गीय गायक मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’ लगायत १५० वटा आधुनिक गीत, सयवटा वालगीत, १२० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीत गाएका छन् ।
स्व. मुनालले 'हाम्रा शत्रु (बाल चित्रकथा संग्रह)', 'पि पि गर्छ बाजा (बालगीत संग्रह)', 'घैँटोमा घाम (बालनाटक संग्रह)', 'हराएको हात (बालकथा संग्रह)' लगायतका बाल साहित्यिक पुस्तकहरु पनि प्रकाशित गरेका थिए । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए । उनको ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।