निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनिरहेको 'आमा' सिनेमाबाट शीर्ष कलाकार सूर्यमाला खनाल बाहिरिएकी छन्। सिनेमामा उनको सट्टा मिथिला शर्मा अनुबन्धित भएकी छन्।
सूर्यमालाले आफ्नो भागका केही दृश्यको छायांकन समेत गरेपछि उनी सिनेमाबाट बाहिरिएकी हुन्।
उनले सहमतीमै सिनेमा छाडेकी हुन्। असोजमा अमेरिका जानुपर्ने र केहि समय त्यतै बस्नुपर्ने कारण सिनेमाको काम रोकिने भएपछि उनले सिनेमाबाट सहमतीमै हात झिकेकी हुन्।
असार १५ गतेबाट छायाँकन सुरु गरिएको सिनेमा आमाको हाल नेपालमा सोचे अनुरुप पानी नपरेको भन्दै निर्देशक खनालले छायाँकन रोकेका छन् । सिनेमाका अधिकांश दृश्यमा पानी आवश्यक पर्ने भएकाले सिनेमाको छायाँकन रोकेको दिपेन्द्रले बताए ।
निर्देशक दिपेन्द्र के खनालका अनुसार कथाले मागे अनुसारको दृश्यमा काम गरिरहेकाले सिनेमाको छायांकन लम्बिने देखिएको छ ।
'हो, उहाँको असोजमा अमेरिका जानुपर्ने भएकाले सिनेमा छाड्नुभयो । मैले सिनेमाका दृश्यमा कुनै पनि संझौता नगरी काम गरिरहेको छु । यसैले, हाम्रो छायांकन दैनिक जसो भइरहेको छैन' दीपेन्द्रले भने।
सिनेमा फागुन ९ गते रिलिज हुनेछ।
सिनेमामा मिथिलाका अलावा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतको अभिनय रहने छ ।