कान्तिपुर फिल्म एकेडेमी सिनेमा निर्माणमा होमिएको छ। एकेडेमीले सोमबार परिच्छेद सेनको निर्देशनमा ‘म’ निर्माण गर्ने औपचारिक घोषणा गरेको छ ।
निर्देशक परिच्छेद सेनले सिनेमाले हरेक व्यक्तिको कथा भन्ने बताएका छन् ।
‘हामीले समाज भित्रकै कथामा सिनेमा निर्माण गर्दैछौं । सिनेमाले समाजमा रहेका हरेक व्यक्तिले भन्दै आएको शब्द म लाई प्रस्तुत गर्नेछ’, सिनेमाका निर्देशक परिच्छेद सेनले भने।
सिनेमामा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको मुख्य भूमिका रहनेछ ।
यस्तै सिनेमामा बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् ।
कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीहरुसँग सहकार्य गर्दै सिनेमा निमार्ण गर्न लागिएको बताए ।
प्रकास पुरीको कथा रहेको सिनेमामाको सम्पुर्ण टिम निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्ययन गरेका विद्यार्थीहरु हुन् ।
सिनेमालाई तेन्जिन पाल्देनले छायांकन गर्नेछन् । सिनेमामा एउटा मात्र गीत समावेश गरिनेछ । उक्त गीतको शब्द तथा संगीत जेतेन लेप्चाले तयार पारेका हुन् । भने, गीतमा स्वर पनि संगीतकार जेतेन लेप्चाले दिनेछन् ।
सिनेमामा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली सिनेमामा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो ।
बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् ।