लोकप्रिय हास्य टेलिश्रृखंला 'भद्रगोल'का प्रमूख कलाकर ,लेखक तथा निर्देशक कुमार कट्टेल 'जिग्री'ले आफ्ना दर्शकसँग सुझाव मागेका छन्। विगत केहि समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम प्रसारण गराउने एजेन्सी मिडिया हब र उत्पादन गर्ने कम्पनीबीच विवाद भएका कारण रोकिदैं आएको छ।
बिहिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै कट्टेलले 'भद्रगोल'को नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने आफूहरूसँग 'भद्रगोल'को नामको अधिकार आफूहरूसँग नभएको गुनासो गर्दै कसरी अगाडि बढ्ने हो भनेर पोस्टमा सोधेका छन्।
'विगत लामो समयदेखि विभिन्न समस्याहरु तथा अवरोधकाबीच पनि आफ्नो कर्मप्रति पूर्ण इमान्दार भएर 'भद्रगोल' सिरियलमा काम गरिरहेका थियौं । 'भद्रगोल' उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकिए लगत्तै 'भद्रगोल'लाई निरन्तर सन्चालनमा ल्याउन हामीले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौ', पोस्टमा उनले लेखेका छन्।
यसैगरी पोस्टमा उनले कार्यक्रम प्रसारण गराउने मिडिया हबले पारिश्रमिक नदिनेसम्म काम गर्दा पनि निरन्तर दर्शकको मनोरञ्जनका लागि काम गर्दै आएको पनि उल्लेख गरेका छन्। पारिश्रमिक पाउने निर्णय हुँदा पनि मिडिया हबले पारिश्रमिक नदिएको उनको गुनासो छ।
'भद्रगोल टेलिसिरियलबाट केही वर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भावले निरन्तर मोटिभेट भई कर्म गरिरह्यौं। पारिश्रमिक पाउने निर्णय भैइसकेपछि पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टेलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अवलम्बन गर्दापनि दिगो तरिकाले काम गर्ने वातावरण देखिएन।'
पोस्टमा 'जिग्री'ले मिडिया हबको रवैयाका कारण देशमै बसेर कलाप्रति पूर्णरूपमा समर्पित भएर काम गरिरहँदा पछिल्ला घटनाक्रममा आफूहरूको भविष्यप्रतिको चिन्ता थपिदैं गएको बताएका छन्।
उनले काम गरिरहेको मिडिया हबसँग अब मिलेर काम गर्ने अवस्था नरहेको पनि स्टाटसमा लेखेका छन्।
यस्तो छ 'जिग्री'ले लेखेको फेसबुक स्टाटसः
भद्रगोल रोकिनुको कारण:
भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई,दिदिबहिनीहरुमा सम्मान र नमन व्यक्त गर्दछौं ।
यहाँ सम्मको यात्रामा हामीलाई साथ दिनुहुने मिडिया हब प्रा .लि ,नेपाल टेलिभिजन ,सम्पुर्ण मिडिया हाउस,शुभचिन्तक ,बिज्ञापन दाताहरु,प्राबिधिकहरु, संचारकर्मीहरु,सुबास कार्की 'बेलासे'सर,शंकर आचार्य 'वरिस्टे'दाइ लगायत सम्पुर्णहरुप्रति कृतज्ञ छौँ ।
विगत लामो समयदेखि विभिन्न समस्याहरु तथा अवरोधकाबीच पनि आफ्नो कर्मप्रति पूर्ण इमान्दार भएर भद्रगोल सिरियलमा काम गरिरहेका थियौं । भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगल लाई निरन्तर सन्चालनमा ल्याउन हामीले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौ।
दुर्भाग्यको कुरो भद्रगोलको नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन। एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं । एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जना नै हुन्छ होला।
भद्रगोल टेलिसिरियलबाट केही वर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भावले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।पा रिश्रमिक पाउने निर्णय भैइसकेपछि पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टेलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनि दिगो तरिकाले काम गर्ने वातावरण देखिएन। हुन त हामी कलाकारको लागि पैसा भन्दापनि कला,दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुँपर्छ ।यहि देशमा बसेर कलाप्रति पूर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भविष्य प्रतिको चिन्तापनि थपिदैं जाँदो रहेछ।
आजको दिनमा न हामीले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासँग काम गर्ने वातावरण छ। यो अवस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपी दर्शकहरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।