एक समयको अत्याधिक लोकप्रिय टेलिश्रृखंला 'हिजो आजका कुरा' अब सिनेमाको पर्दामा आउने भएको छ।
शुक्रबार कलाकार सन्तोष पन्तले आफूले लामो समय निर्माण र निर्देशन गरेको लोकप्रिय टेलिश्रृखंलाको नाममा सिनेमा बनाउन लागेको घोषणा गरे।
सिनेमालाई उनका छोरा साकार पन्तले निर्देशन गर्नेछन्। सिनेमामा सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका हुनेछ।
तिहार पछि फ्लोरमा जाने कमेडी ड्रामामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यको अभिनय रहनेछ। यसैगरी सिनेमाबाट दुई नयाँ कलाकारले डेब्यू गर्ने भएका छन्।
सिनेमाबाट विनायक कुईंकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।
‘हिजो आजका कुरा’ नेपाल टेलिभिजनको स्क्रिनमा झन्डै १८ वर्ष प्रसारण भएको थियो।
सिनेमाले काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयलाई आफ्नो कथा बनाएको छ।
पन्त फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।