सिनेमा ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ।
बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै सिनेमा फ्लोरमा गएको हो।
टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन्।
सिनेमामा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ। मुर्हुतमा यी दुई अनुभवी कलाकारले पहिलो सट दिए।
राजधानी र चितवनमा झन्डै ३५ दिन छायाँकन हुने सिनेमामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ।
सिनेमाबाट विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन्।
छायाँकन सुरु गरेसँगै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति पनि तय गरेको छ। २०७७ सालको बैशाख १२ गते सिनेमा प्रदर्शन गरिने कलाकार पन्तले जानकारी दिए।
पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ। सिनेमाको सह-निर्मातामा अशोक घिमिरे छन्।