भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् ।
काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए।
कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरे।
साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए।
भोस्लेले गजमेरको सङ्गीतमा नेपाली गीत गाएकी छन्।
कार्यक्रममा भोस्लेले किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपैको गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरिन्।
मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए।
भोस्लेको करिब २० मिनेटको सागीतिक प्रस्तुति चलिरहँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सिएको थियो।
दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थिन। ८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए।
उनले आफ्नो प्रस्तुतिका क्रममा 'हरे कृष्ण हरे राम' बोलको हिन्दी गीतसमेत गाएकी थिइन्। भोस्लेले नेपालमा आउँदा पाएको सम्मान आफ्ना लागि स्मरणमा रहिरहने बताइन्।
उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेरसमेत निक्कै खुशी देखिन्थे। उनले नेपालीहरू अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताए।
कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिएका थिए।
अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उनकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु प्रस्तुत गरे।
उनीहरूले हेर न हेर कान्छा, चिसो–चिसो हावामा, सुन भनन, पहाडको माथिमाथि, वीरताको चिनो, टाढा भइनदेऊ फेरि, तिमी मेरो म तिम्रो, भनिदेऊ आज, यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सना, लहनाले, पिएको त, साउने झरीमा, यो मुटुलाई, दिलमा फोटो छ लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमको प्रमुख अतिथि बनेका थिए।
(राससका लागि अर्जुन भुसाल)