गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको ‘चिसो एस्ट्रे’ सिनेमाले जेठ १६ लाई आफ्नो रिलिज मिति तोकेको छ।
आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन्।
दिन्शले यसअघि ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो।
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताउँछन्।
‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ। आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो।’
फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन्।
सिनेमामा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन्। सिनेमामा संगीत अजर जंगमको रहेको छ। उज्जल बस्ताकोटीको छायांकन रहेको सिनेमामा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।
नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ।