फागुन १ देखि ५ गतेसम्म तेश्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिवल हुने भएको छ।
बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीले यसको जानकारी दिएको हो।
फेस्टिवल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने छ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा बोकेको निफमा यसपटक ८० सिनेमा देखाइनेछन्। ५५ देशका ६ सय बढी सिनेमाबाट ८० सिनेमा छनौट गरिएको जानकारी कार्यक्रम दिइएको थियो।
फेस्टिवलमा अन्तर्राष्ट्रिय कथानकमा १०, लघुमा ३५, नेपाली कथानकमा ५, नेपाली लघुमा १५, वृतचित्रमा ८ र एनिमेटेडमा ६ सिनेमाबीच प्रतिष्पर्धा हुनेछ।
कथानक अन्तर्गतका सिनेमाको मुल्यांकन बलिउड निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले गर्नेछ।
यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरे फिल्ममेकर युनी हाडी सदस्य रहेका छन्।
यसैगरी वृतचित्र, लघु चलचित्र र एनिमेटेड चलचित्रको जुरीमा श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गर्नेछिन् । उनको सहयोगीको रुपमा थिबाउट फ्रेक र करुण थापा छन् ।
महोत्सवको क्रममा अभिनेता राजेश हमालले आफ्नो अभिनय यात्राको अनुभव सुनाउने छन्।
ययसैगरी कार्यक्रममा निम्न विधामा पुरस्कार दिइने भएको छ।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धा
उत्कृष्ट सिनेमा :- १ हजार ५ सय अमेरिकी डलर र गौतम बुद्ध अवार्ड
उत्कृष्ट वृतचित्र:- १ हजार अमेरिकी डलर र माउन्ट एभरेस्ट अवार्ड
उत्कृष्ट एनिमेटेड सिनेमा:- ७ सय ५० अमेरिकी डलर र मञ्जुश्री अवार्ड
उत्कृष्ट लघु सिनेमा: ५ सय डलर अमेरिकी डलर र वाग्मती अवार्ड
नेपाली प्रतिष्पर्धा
उत्कृष्ट सिनेमा:- १ लाख रुपैयाँ पुरस्कार
उत्कृष्ट लघु सिनेमा:- ४० हजार रुपैयाँ पुरस्कार
कथानक सिनेमा विधागत ट्रफी:- उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्री