'गोपी' तथा 'छ माया छपक्कै' निर्देशक दीपेन्द्र लामाको नयाँ सिनेमा घोषणा भएको छ।
सोमबार राजधानीमा एक कार्यक्रमकाबीच लामाको निर्देशनमा '२ नम्बरी' नामक सिनेमाको घोषणा गरिएको हो।
सिनेमामा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका हुनेछ।
'निर्माण पक्षले कथावस्तु र भूमिकाको बारेमा नबोल्न भन्नु भएको छ। दीपेन्द्र, बुद्दि र वर्षासँग यसअघि काम गरिसकेको छु', कार्यक्रममा बोल्दै दयाले भने, 'पलसँगको सहकार्यले खुसि थपेको छ। युवा कलाकारसँग काम गर्न सधै उत्साहित हुन्छु। हामीले भूमिकामा शतप्रतिशत दिने कोशिस गर्नेछौँ।'
डेब्यु सिनेमा 'नाइँ नभन्नु ल ४' पछि दोस्रो पटक वर्षा र पल एकसाथ देखिन लागेका हुन्।
पलले भने 'दयाहाङ दाईसँग पहिलो पटक काम गर्न पाउँदा अझ धेरै खुशी छु। उहाँसँग धेरै कुरा सिक्न पाउने अपेक्षा बोकेको छ । यस्तै बुद्दिसँग वीर विक्रम २ मा काम गरेको नाताले यसमा घुल्न सजिलो हुनेछ।'
यसैगरी वर्षाले राम्रो टिमबाट राम्रो काम निक्लिने आशा व्यक्त गरिन्।
'सबैसँग यसभन्दा अगाडी काम गरेकाले यसमा सहज त पक्कै पनि हुनेछ । तर, पनि टिमबाट केहि सिक्ने मौका मिल्नेछ भन्ने आशा बोकेकी छु। जनैपुर्णिमामा सिनेमा लिएर आउनेछौँ,' उनले भनिन्।
माघ २५ देखि फ्लोरमा जाने सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ।