गोश्वारा हुलाक कार्यालयले धुर्मुस-सुन्तली फाउन्डेसनलाई १ लाख ५ हजार २ सय सत्तरी रुपैयाँ सहयोग प्रदान गरेको छ।
बुधबार फाउन्डेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस)लाई हुलाक कार्यालयमै पदाधिकारीले सहयोग हस्तान्तरण गरेका हुन्।
हुलाक कार्यालयका कर्मचारी, स्कुले बालबालिका र वृद्दहरुले खाजा खाने पैसा र वृद्दभत्ता जम्मा गरेर फाउन्डेसनलाई सहयोग गरेका हुन्।
सहयोग प्राप्त गरेपछि धुर्मुसले सबैलाई आभार व्यक्त गरे।
‘हामी सबै नेपालीको राष्ट्रिय गौरवको आयोजनामा आफ्नो खाजा र वृद्दभत्ता कटाएर जुन रुपले सहयोग गर्नुभएको छ। तपाईको सहयोगले भोलि रंगशाला निर्माणमा मेरो पनि पसिना परेको छ है भन्दा गौरव महसुस हुनेछ', उनले भने, '७७ जिल्ला झल्काउने ७७ कक्षको लागि हामीले सम्पूर्ण जिल्लामा सहयोग अपिल गरेका छौँ। त्यसैले सहयोग आउने आशा छ। रंगशाला निर्माणका लागि सबैले हातेमालो गरौँ।'
यसैगरी धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा ‘सेन्टी भाइरस’ले व्यापारको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरेको छ। सो सिनेमा फागुन ९ देखि रिलिज हुँदैछ।
रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर बुधबार मात्र सार्वजनिक गरिएको थियो। सिनेमामा धुर्मुस-सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ।