सोमबार सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल(निफ)मा विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले डबल हयाट्रिक गरेको छ।
राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको फेस्टिभलमा बुलबुलले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो।
सिनेमाबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन्। त्यसैगरी अभिनयतर्फको जुरी अवार्ड पुरुषबाट मुकुन भुषालले जिते भने महिलातर्फको अवार्ड सोही सिनेमाकी लक्ष्मी बर्देवाले जितिन्।
यसैगरी दिपेन्द्र लामा निर्देशित ‘गोपी’ले पनि तीन अवार्ड हात पार्यो। समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने सिनेमाबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे।
सोही सिनेमाबाट छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो।
कार्यक्रममा नेपाली सर्ट सिनेमा तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले पायो भने इन्टरनेसनल सर्ट सिनेमा तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो।
नेपाली सर्ट सिनेमातर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जितेको थियो। प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए। सर्ट सिनेमा तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पायो।
बहुपति प्रथाको कथा समेटिएको गणेश पायडे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्डसँगै सिनेमाले १ हजार अमेरिकी डलर पनि हात पार्यो।
यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो। मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ।
अन्तर्राष्ट्रिय सर्ट सिनेमाको विधातर्फ भारतीय सिनेमा 'नुरी' उत्कृष्ट मानिएको थियो । बागमती अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।
समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो। जितसँगै सिनेमाले १५ सय अमेरिकी डलर हात पार्यो।