जावेद अख्तर भारतका चर्चित कवि, गीतकार तथा फिल्म लेखक हुन्। उनले सलीम खानसँग मिलेर लेखेका 'शोले,' 'जञ्जीर', 'दीवार', 'त्रिशूल' लगायतलाई हिन्दी फिल्मकै उत्कृष्टमा गणना गरिन्छ। भारतमा फिल्मको पोस्टरमै लेखकको नाम राख्ने चलन 'सलीम–जावेद' बाट सुरू भएको थियो। उनीहरूपछि धेरै समय यो चलनले निरन्तरता पाएन।
यिनै जावेद अख्तरसँग लामो अन्तर्वार्ता गरी भारतीय फिल्म उद्योगका बायोग्राफर तथा वृत्तचित्र निर्माता नसरीन मुन्नी कबीरले 'टकिङ फिल्मस्' भन्ने किताब लेखेका छन्। सन् १९९९ मा प्रकाशित उक्त किताबमा उल्लिखित 'शोले' फिल्मसम्बन्धी अंश हामीले यहाँ अनुवाद गरेका छौं।
के 'शोले' कुनै फिल्ममा आधारित छ? या कुनै किताब? जापानी निर्देशक आकिरा कुरोशावाको 'सेभेन सामुराई' बाट प्रभावित हुनुहुन्थ्यो कि?
'सेभेन सामुराई' त होइन, तर धेरैले 'म्याग्निफिसेन्ट सेभेन' र 'द फाइभ म्यान आर्मी' बाट प्रभावित हुनुहुन्थ्यो भनेर सोध्छन्। मलाई त्यस्तो लाग्दैन। 'शोले' आउनुभन्दा अगाडि 'द फाइभ म्यान आर्मी' रिलिज भइसकेको थियो कि थिएन भन्ने पनि मलाई याद छैन। 'म्याग्निफिसेन्ट सेभेन' चाहिँ रिलिज भइसकेको थियो।
एउटा कुरा के सही हो भने, कसैको व्यक्तिगत प्रतिशोध वा कुनै उद्देश्य निम्ति भाडाका सिपाहीलाई काममा लगाउने अवधारणा थुप्रै पश्चिमी फिल्ममा आइसकेको थियो। तर, 'शोले' को सम्पूर्ण कथा, विषयवस्तु र पात्र कसैबाट प्रभावित छैन।
सन् १९५६ मै 'शोले' नामको अर्को फिल्म पनि त थियो?
त्यो सायद बीआर चोपडाको पहिलो फिल्म थियो। त्यो रिलिज हुँदा म सानै थिएँ। तर, उनीहरूको फिल्मको शीर्षक 'सोले' थियो, 'शोले' होइन। मलाई त्यति बेलै 'सोले' लेखेको कत्ति मन परेको थिएन। त्यो शब्द एकदमै फितलो थियो, ताप नभएको आगोजस्तो। त्यसलाई हामीले 'शोले' लेख्यौं। बल्ल त्यसले एक किसिमको भयानक ज्वाला वा दन्किरहेको आगोको संकेत गर्यो।
पश्चिमी फिल्म समीक्षकले 'शोले' लाई सब चिज मिसाएर पकाइएको 'तरकारी' जस्तो भनेका छन्। यस्तो सुन्दा तपाईंलाई के लाग्छ?
यसमा केही सत्यता छ। मैले यो स्वीकार गर्नैपर्छ। एक जना निर्देशक थिए, मैले नाम बिर्सें– जसले 'अ फिस्टफुल अफ डलर्स' बनाएका थिए।
सर्जियो लियोन?
हो, सर्जियो लियोन। हामी उनको फिल्मबाट निकै प्रभावित थियौं। मलाई लाग्छ, गब्बर सिंहमा मेक्सिकन चरित्रको झलक छ। उनी विद्रोही हुन्, डाकु होइनन्। यो चरित्र निर्माणमा सर्जियो लियोनको धेरै प्रभाव छ।
गब्बर सिंहले नरसंहार गरेपछि जब ठाकुर घर आउँछन्, उनले परिवारका सबै सदस्यको रक्ताम्मे शव भुइँमा लडिरहेको देख्छन्। यस्तै दृश्य 'वन्स अपन अ टाइम इन दी वेस्ट' भन्ने फिल्ममा पनि छ। हामीले त्यसैबाट प्रभावित भएर 'शोले' मा त्यस्तै दृश्य लेखेका थियौं।
यसबाहेक 'शोले' का स्क्रिप्ट र पात्र हाम्रो 'ओरिजिनल' हो। ती सबै हामीले सिर्जना गरेका घटनाक्रम र चरित्र हुन्।
म कुनै त्यस्तो हिन्दी फिल्म सम्झिन्न, जसका पाँच वा छ वटा पात्र आजसम्म मान्छेले सम्झिरहन्छन्। तपाईं गब्बर सिंह भन्नुस् या सुरमा भोपाली, बसन्ती होस् वा जय–वीरू, जेलरदेखि शाम्भासम्म कालजयी छन्। यो फिल्म सन् १९७५ मा रिलिज भएको थियो। तर, आज पनि ती पात्र मान्छेको सम्झनामा बसेका छन्। मान्छे ती चरित्रको नक्कल गर्छन्। विभिन्न फिल्ममा ती चरित्र पुनः प्रयोग भएका छन्।
उदाहरणका लागि, शाम्भाकै कुरा गरौं। हामीले स्क्रिप्ट लेख्दा शाम्भा भन्ने पात्र छँदै थिएन। जब हामी गब्बर सिंहको पहिलो दृश्य लेख्दै थियौं, त्यो दृश्य यस्तो थियोः
गब्बर भन्थे- कितना इनाम रखे हैं सरकार हम पर?
अनि जवाफ पनि उनी आफैं दिन्थे– पूरे पचास हजार।
सन् १९७० दशकमा पचास हजार भनेको ठूलो रकम थियो। स्क्रिप्ट निधो भइसकेपछि हामीलाई लाग्यो, गब्बरजस्तो अहंकार, आत्मसम्मान र आगो भरिएको व्यक्तिले आफ्नो बढाइचढाइँ आफैं गर्नु त्यति सुहाउँदैन। उनी त यस्ता व्यक्ति हुन्, जो आफ्ना सहयोगीलाई आदेश दिन्छन्। त्यो आदेश कामको निम्ति मात्र होइन, आफ्नै बढाइचढाइँ गर्न पनि हुन्छ।
त्यसपछि हामीले शाम्भा पात्र जन्मायौं। र, त्यो दृश्य यस्तो भयोः
गब्बरः अरे ओ शाम्भा, कितना इनाम रखे हैं सरकार हम पर?
शाम्भाः पूरे पचास हजार।
गब्बरः सुना, पूरे पचास हजार।
यो दृश्य लेखिसकेपछि हामी एकदमै खुसी भएका थियौं। हामीलाई लाग्यो, गब्बरले आफ्नो कुरा आफैं भन्नुभन्दा एक जना छाया पात्र उभ्याएर, उनकै मुखबाट बकाउनु बढी प्रभावकारी देखिन्छ। त्यो गब्बरको चरित्र निम्ति बढी सुहाउँदो पनि हुन्छ।
आखिरमा हाम्रो निर्णय सही साबित भयो। शाम्भालाई आज पनि मान्छेले बिर्सेका छैनन्। फिल्ममा उनको संवाद र दृश्य थोरै छ। उनी गब्बरले जे सोध्यो, त्यसको जवाफ मात्र दिन्छन्। चट्टाने पहाडको टुप्पोमा टुक्रुक्क बन्दुक बोकेर बसिरहेका दीनहीन पात्र, तर उनको वजन र प्रभाव बेजोड छ।
'शोले' मा त्यति धेरै पात्र छन्। ती सबै पात्रका लागि अलग–अलग भाषा, शब्दावली प्रयोग गर्न तपाईंहरूलाई कत्तिको गाह्रो पर्यो?
'शोले' लेखनको सबभन्दा रोचक अनुभव यही रह्यो हाम्रो निम्ति। मेरो पूरा करिअरमा गब्बर सिंह नै यस्तो पात्र हो, जुन लेख्दा मलाई अत्यन्तै सन्तुष्टि र रमाइलो महशुस भयो। यसको कारण के भने, गब्बरको आफ्नै भाषा, शैली र शब्दावली छ। उनी सामान्य मान्छेले बोल्ने भाषा प्रयोग गर्दैनन्।
जस्तो यो संवाद हेरौंः
'अरे ओ शाम्भा, यह रामगढवाले अपनी बेटियोंको कौन चक्कीका पिसा आँटा खिलाते हैं रे? जरा दारीके हाथपावँ देख, बहुत करारे हैं साले, बहुत करारे साले।'
यहाँ गब्बरले बसन्तीका हातखुट्टा व्याख्या गर्न 'करारे' शब्द प्रयोग गरेका छन्। म व्यक्तिगत रूपमा कुनै महिलाको हातखुट्टालाई 'करारे' भनेर व्याख्या गर्दिनँ।
अर्को दृश्यमा उनी भन्छन्ः
'और कचहरीमें ऐसा ताप मुझको, ऐसा ताप मुझको।'
यहाँ गब्बरले भन्न सक्थे– कचहरीमें ऐसा गुस्सा आया मुझको।'
उनले 'गुस्सा' को सट्टा 'ताप' शब्द प्रयोग गरे। क्रोधलाई 'ताप' भन्नु सामान्य बोलीचाली होइन। ताप भनेको त तातो हो, ज्वरो आउनु हो। हामीले यही संवाद अरू कुनै पात्रका लागि लेखेको भए, पक्कै 'ताप' भन्ने थिएनौं। तर, गब्बरको त आफ्नै भाषा छ। उनी जे पनि शब्द प्रयोग गरेर जे पनि अर्थ लगाइदिन सक्छन्।
अर्को संवाद छः
'देखो छमियाँ, ज्यादा नखरे मत करो, नहीँ तो यह गोरी चमडी है ना– सारे बदनसे खुरच खुरचकर उतार दुंगा, सम्झी।'
यहाँ गब्बरले बसन्तीको छाला काढ्ने कुरा गरेका छन्। त्यो पनि कसरी? माछाको कत्ला चक्कूले कोतरेजस्तो बसन्तीको जीउभरिका छाला 'खुरच खुरच' पार्दै कोतर्ने कुरा गर्छन्। कस्तो हिंसात्मक र क्रूर छ उनको यो अभिव्यक्ति!
यस्तो क्रूर अभिव्यक्ति अरू पात्रलाई सुहाउँदैन। अरू कुनै खलनायकलाई पनि सुहाउँदैन। यो गब्बरले मात्र बोल्न सक्छन्।
उनी कतिसम्म निर्दयी छन् भने, आफ्नो प्राणको निम्ति संघर्ष गरिरहेका ठाकुरलाई हेर्दै भन्छन्–
'कैसा फड्फडा रहा है साला।'
उनले यसमा शिकारीको गोली लागेर भुइँमा झरेको पन्छीसँग ठाकुरलाई दाँजेका छन्। यहाँ 'फड्फडाउने' शब्दले नै मृत्युको मुखमा पुगेको मान्छे छट्पटाइरहेको झलक दिन्छ। यस्तो शब्द गब्बरले मात्र बोल्न सक्छन्।
उनको सट्टा अरू भइदिएका भए, सायद भन्थे– 'देखो कैसा झट्के मार रहा है, कैसा लड रहा है, कैसा हाथापाई कर रहा है।'
गब्बर आश्चर्यले भरिएका पात्र पनि हुन्। उनी के बोल्छन् र के गर्छन् भनेर मान्छेलाई अनुमान गर्न गाह्रो छ। जस्तो, पहिलो दृश्यकै कुरा गरौं।
उनी कालियाप्रति चासो देखाउँदै सोध्छन्– अब तेरा क्या होगा कालिया?
कालिया डराउँदै डराउँदै भन्छन्– मैने आपका नमक खाया है सरदार।
गब्बर– अब गोली खा।
त्यसपछि मान्छेलाई लाग्छ, अब गब्बर गोली चलाएर कालियालाई मार्नेवाला छन्। तर, उनी मार्दैनन्। उनको बन्दुकबाट गोली नै चल्दैन। सबै छक्क पर्छन्। अरे, गब्बर सिंहको बन्दुकबाट गोली चलेन!
उनी थप दुई जनालाई यसैगरी निशाना साँधेर बन्दुक चलाउँछन्। तर, दुवैचोटि गोली चल्दैन।
यहाँ गब्बर आफैं छक्क परेको भाव देखाउँछन्। र, अट्टहास गर्दै हाँस्न थाल्छन्। आफ्नो सरदार हाँसेको देखेर अरू डाकु पनि पेट मिचिमिची हाँस्छन्। पूरै अड्डाभरि हाँसो गुञ्जिन्छ।
पर्दामा सबै पात्र हाँसेको देखेपछि स्वाभाविक रूपले दर्शक पनि हाँसो थाम्न सक्दैनन्। पहिलो दृश्यमा पहिलोचोटि गब्बरको यस्तो हाउभाउ देख्दा धेरैलाई उनको चरित्र नै हाँसो, ठट्टा गर्ने हो कि जस्तो लाग्न सक्छ।
त्यसपछि पर्दामा देखिएका सारा पात्र र दर्शकलाई समेत अचम्म पार्दै गब्बर धडाधड तीन गोली चलाएर तीनै जनालाई मार्छन्।
पर्दामा दृश्य सुनसान हुन्छ, यता दर्शकहरूको पनि मुटु चिसो हुन्छ।
यो दृश्य हामीले यस्तरी लेखेका छौं, जसले गब्बरको चरित्र, उनको अहंकार, आगो र क्रूरतालाई एकैचोटि प्रस्ट बाहिर ल्याइदिन्छ।
फिल्ममा गब्बरका आठ वा नौ दृश्य छन्। हरेक दृश्यमा तपाईंलाई गब्बरको हाउभाउ के हुन्छ, उनी के गर्छन् भनी अन्दाज गर्न मुश्किल पर्छ।
भनेपछि गब्बरको चरित्र र संवाद त 'रोलर–कोष्टर राइड' जस्तो पो रहेछ?
सही भन्नुभो। हरेकचोटि दर्शकलाई यस्तो लाग्छ, उनी अब चिच्याउनेवाला छन्, तर उनी शान्त भएर बोल्छन्। यसले दर्शकलाई अचम्म पार्छ र खुसी पनि दिन्छ।
गब्बरलाई २० वर्ष जेल सजाय सुनाइएपछि जब ठाकुर अगाडि आउँछन्, धेरैलाई लाग्छ, अब उनी ठाकुरलाई झम्टिनेवाला छन्। तर, यहाँ पनि गब्बर शान्त भएर भन्छन्–
'दुनियाँकी कोई भी जेलकी दीवार इतनी पक्की नहीँ, जो गब्बरको २० सालतक रोक सके।'
यो संवादमा गब्बरको आत्मविश्वास झल्किन्छ। त्यसपछि उनी भन्छन्–
'और जिस दिन मैं भाग निकला, बहुत पछतावगे ठाकुर।'
यहाँ अरू खलनायक भइदिएका भए भन्नसक्थे– जिस दिन मैं भाग निकला, मैं तुझे जिन्दा नहीँ छोडुंगा।
गब्बर यसरी सिधै धम्की दिँदैनन्। उनी यति भन्छन्– म जेलबाट भागेपछि तँ निकै पछुताउने छस्। तर कसरी पछुताउने? उनी आफ्नो तुरूपको एक्का खोल्दैनन्।
उनको मनमा प्रतिशोधको भावना उम्लेको छ भन्ने हामीलाई थाहा छ। तर त्यो प्रतिशोध कुन रूपमा विस्फोट हुनेवाला छ भनेर हामी अनुमान गर्न सक्दैनौं। यो हदसम्मको 'सर्प्राइज' गब्बरलाई नै शोभा दिन्छ।
उनले ठाकुरको घर गएर परिवारका सबै सदस्यलाई एक–एक गर्दै गोली हान्छन् र ठाकुरका दुई हात काटिदिन्छन्।
यहाँ ठाकुरका दुई हात काटिनु अर्थपूर्ण छ। किनकि, ठाकुर यसैको बदला लिन जय र वीरूलाई आफ्ना दुई हात बनाएर रामगढ ल्याउँछन्।
यो फिल्ममा ठाकुर र गब्बर एकअर्काका प्रतिद्वन्द्वी पात्र हुन्। तर, दुवैको चरित्र एकदमै फरक छ।
गब्बरलाई हेर्नुस्, उनी सधैं फोहोरी देखिन्छन्। दारीजुंगा कहिल्यै काट्दैनन्। सुर्ती मोलेर बस्छन्। उनको भाषा, लवज र हाउभाउमा क्रूरता झल्किन्छ।
ठाकुरको चरित्र सफा छ। उनको लवाइ पनि सफा छ। एकदमै कम बोल्छन्। तर, उनको थोरै शब्द पनि निर्णयात्मक छ।
जब उनी जय र वीरूको खोजी गर्ने जिम्मा एक जना प्रहरीलाई दिन्छन्, ती प्रहरीले भन्छन्– खोटा सिक्का तो दोनो ही तरफ से खोटा होता है।
ठाकुर जवाफ दिन्छन्– सिक्के और इन्सानमें सायद यही फरक है।
अर्को दृश्यमा जब जय र वीरू रामगढ आउँछन्, ठाकुरले ती दुईको परीक्षा लिन उनीहरूमाथि आक्रमण गराउँछन्। जय र वीरूले आक्रमणकारीलाई परास्त गरेपछि ठाकुर उनीहरूका अगाडि आउँछन्। र, भन्छन्– मैंने तुम दोनोको यहाँ लाकर कोई गल्ती नहीँ की।
फिल्ममा 'फन्दा खुल गया' भन्ने संवाद पनि निकै अर्थपूर्ण छ नि?
हो, यो संवाद पहिले ठाकुरले बोलेका हुन्छन्। जब उनी घोडामा लखेट्दै गब्बरलाई पक्राउ गर्छन्, तब दुई हातले गब्बरको घाँटी अँठ्याउँदै भन्छन्– यह हात नहीँ, फाँसीका फन्दा है।
यसैको जवाफमा गब्बरले ठाकुरलाई आफ्नो अगाडि निरीह उभ्याएर भन्छन्– 'देख फन्दा खुल गया।'
त्यसैले, यहाँ हातको फन्दालाई फाँसीको फन्दाको विम्बका रूपमा प्रयोग गर्न खोजिएको छ।
हामीले ठाकुरको हात काटेर उनको निरीहता पनि झल्काउन खोजेका छौं। जनावर चार पाउ टेकेर हिँड्छन्। दुई खुट्टाले हिँड्ने र दुई हातले अरू काम गर्न थालेपछि नै मान्छेको विकास भयो। ऊ जनावरभन्दा द्रुत गतिमा अघि बढ्न थाल्यो। त्यही विकासमा टेक्दै मानव सभ्यता आजको अवस्थामा आइपुग्यो। त्यसैले, हात भनेकै मान्छेको जीवन हो, जसले उसलाई अरू जनावरबाट पृथक राख्छ।
गब्बरको निम्ति ठाकुरको हात काट्नु भनेको उनलाई मानिसबाट च्यूत गराउनु हो। उनको आत्मसम्मान हरण गर्नु हो। उनको निम्ति ठाकुरलाई गिराउन सबभन्दा ठूलो प्रतिशोध नै त्यही हो।
त्यही भएर जब अदालतमा ठाकुर गब्बरको अनुहारमा थुक्छन्, उनी भन्छन्–
'थुक ले ठाकुर, लेकिन वह हाल करके छोडुंगा, के दुनियाँ थुकेगी तुझ पर।'
गब्बर उनलाई मार्न चाहँदैन थिए, उनलाई बचाउन चाहन्थे। यस्तरी बचाउन, ताकि त्यो जीवन मृत्युभन्दा भयंकर होस्।
के तपाईंले गब्बर सिंहको भूमिकामा सुरूदेखि अमजद खानकै कल्पना गर्नुभएको थियो?
स्क्रिप्ट लेख्दा यो भूमिकाका लागि हाम्रो दिमागमा कुनै व्यक्ति थिएन। संवाद लेखिसकेपछि भने अरू भूमिकामा अनुबन्ध भइसकेका दुई जना कलाकारले गब्बरको भूमिका निर्वाह गर्न इच्छा देखाएका थए। एक जना त सञ्जीव कुमार नै हुन्। गब्बरको भूमिका र संवाद सुनिसकेपछि उनले भनेका थिए, 'म ठाकुर होइन, गब्बरको भूमिका गर्न चाहन्छु।'
अर्को अमिताभ बच्चन हुन्, जसले भनेका थिए, 'गब्बरको भूमिका पाएँ भने म एकदमै खुसी हुनेछु।'
हामी डेनी डेन्जोङ्पालाई लिन चाहन्थ्यौं। त्यो समय हिन्दी फिल्ममा उनी सबभन्दा सफल खलनायक थिए। तर, कसैगरी यो फिल्मका लागि उनको सुटिङ समय मिलेन। 'शोले' को सुटिङ गर्नुपर्ने बेला उनी अरू नै फिल्ममा व्यस्त भए। त्यसपछि हामीसँग अरू कुनै विकल्प भएन। मैले निर्देशक रमेश सिप्पीलाई अमजद खानको नाम सिफारिस गरेँ।
तपाईंले अमजद खानलाई पहिले कहाँ देख्नुभएको थियो?
सन् १९६३ मा दिल्लीमा भएको एक युवा महोत्सवमा मैले उनको नाटक हेरेको थिएँ। उनी आफ्ना भाइ इम्तियाजसँग बम्बे युनिभर्सिटीबाट नाटक गर्न आएका थिए– ऐ मेरे वतन के लोगों। यो नाटक भारतमाथि चिनियाँ आक्रमणमा आधारित थियो।
अमजदले उक्त नाटकमा एक सैनिक अधिकारीको भूमिका गरेका थिए। मैले त्यति बेलै उनको विलक्षण प्रतिभा देखेको थिएँ। सलीम साहब ('शोले' का सह–लेखक) लाई बारम्बार उनका बारेमा बताएको थिएँ।
गब्बरको भूमिकामा अरू कुनै कलाकार फेला नपरेपछि सलीम साहबले नै मलाई सम्झाउनुभयो, 'तिमी सधैं अमजद खानको नाम लिन्छौ नि, उसैलाई बोलाऊँ एकचोटि।'
हामीले अमजदलाई डाक्यौं। रमेश सिप्पीले उनको अभिनय हेरे। मन पराए।
त्यसपछि जे भयो, त्यो हिन्दी फिल्म उद्योगमै इतिहास बन्यो।