नजिकिँदै गरेको गाईजात्राको सन्दर्भ पारेर हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'तिमी के को जान्ने' बोलको उक्त गीत बिहिबार 'मह संचार' युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यो गाईजात्रे गीतमा नेपाली राजनीति र राजनीतिज्ञमाथि व्यङ्ग्य गरिएको छ।
'तिमी के को जान्ने, तिमी के को सुन्ने..म पो जान्ने सुन्ने...तिमी के को जान्ने, तिम्लाई किन मान्ने.. म पो गन्ने मान्ने..', गीतको शब्दले नेपाली राजनीतिज्ञहरुले एक-अर्कालाई नगन्ने र आफैं ठूलो हुन खोजेको कुरामा चोटिलो व्यङ्ग्य प्रहार गरेको छ।
'यस्तै रैछ हाम्रो नेपाल मान्छे चिन्ने-हिँड्ने' भन्दै नेपाली सहनु परेको वेवास्तालाई पनि गीतमा उतारिएको छ। यस गीतमा शब्द र संगीत हरिवंशकै छ। कोरसमा उनलाई इन्द्र आरपी, सुरज शाहफ ठकुरी र विकास भट्टराईले साथ दिएका छन्।
नेपालका राजनीतिज्ञहरु प्रति समर्पित गरिएको यसको गीति भिडियोलाई 'छल-चित्र' भनिएको छ, जसमा हरिवंश आफैंले नेताको भूमिकामा अभिनय गरेका छन्।
गीतको अवधारणा शशी किरणले तयार पारेका हुन्भ। सागर शर्माले निर्देशन गरेको यो गीतको भिडियो हरि हुमागाईंको सिनेमेटोग्राफीमा तयार भएको हो।