बच्चु कैलाश (बिक) ले पहिलो गीत रेकर्ड गराएको ३१ वर्ष पुगिसक्यो। २०४६ सालमा काठमाडौंको विष्णुमती किनारमा रहेको सेम्फोनिक स्टुडियोमा उनले पहिलो गीत रेकर्ड गरेका थियो। त्यो प्यारोडी गीतले तत्कालीन परिवर्तित राजनीतिक परिस्थिति र नेताहरूलाई घोचपेच गर्थ्यो।
अहिलेभन्दा जवानीमा बच्चुको स्वर झनै मिठो थियो। स्वर मन पराएरै त्यो गीत रेकर्ड गर्न नेपाली कांग्रेस पार्टीले आर्थिक सहयोग गर्यो। त्यो गीत आज उनीसँग छैन। बच्चुले स्वयंले पनि त्यो गीत भुलिसकेका छन्।
बच्चुले २०४८ सालमा फेरि अर्कौ एउटा लोक दोहरी गीत रेकर्ड गरे, म्युजिक नेपालबाट।
गीतले भन्थ्यो:
खोली तिरती
क्या राम्रो चौतारी
लाइदेऊ पिरती ...
गीतमा बच्चु कैलाश र पवित्रा घर्तीको स्वर छ। शब्द संकलक गोविन्द घिमिरे हुन्। संगीत बच्चुकै छ।
उतिबेला अहिलेजस्तो युट्युब थिएन। रिल क्यासेटको जमाना अहिलेजस्तो सजिलो थिएन।
‘बाजाको सानो ताल बिग्रिए पनि फेरि सुरू गर्नुपर्ने हुन्थ्यो। एउटा गीत रेकर्ड गर्न दुई दिनसम्म लाग्थ्यो,’ बच्चुले सम्झिए।
बच्चु स्थानीय स्तरमा त्यतिबेलै लोकप्रिय थिए। मेला, पर्व, उत्सवमा बच्चु अनिवार्य निम्त्याइन्थे। गीत गाउनुका साथै मिठो बाँसुरी र हार्मोनियम पनि बजाउने बच्चुको जहाँतहीँ खोजी हुन्थ्यो। मादल र तबलाका केही ताल पनि बच्चुलाई बजाउन आउँछ। त्यही भएर उनको माग हुन्थ्यो।
२०६० सालमा ‘मुक्तिका आह्वान’ भन्ने सन्देशमूलक अर्को गीत रेकर्ड गरे। त्यो गीतमा छुवाछुत र जातीय विभेदविरूद्ध सन्देश थियो। त्यो गीतका शब्द, स्वर, संगीत सबै बच्चुकै हुन। जुन गीत नेपालगञ्जको ओयभ डिजिटलमा रेकर्ड गरेको बच्चुले बताए। डिडब्लुओ भन्ने एउटा संस्थाले गीत रेकर्डमा आर्थिक सहयोग गर्यो। बच्चुको यो गीत पनि क्यासेटमा छ।
‘खोज्यो भने पाउन सकिन्छ, होला,’ उनले भने।
बच्चुसँग आफैंले गाएका कुनै पनि गीतको संग्रह छैन। गीत संगीत संग्रह गर्ने कुनै सामान छैन।
फेरि बच्चुले २०७३ सालमा अर्को गीत रेकर्ड गरे। ४ वर्ष पहिले रेकर्ड गरेको त्यो राष्ट्रिय गीत हो। काठमाडौं अनामनगरको ओपन रेकर्डिङ स्टुडियोमा त्यो गीत रेकर्ड भएको हो।
हिमालको छ, छत्र छायाँ,
यो देशको माया
हामी सबै नेपाली हौं
नेपालीको माया
यो गीतका पनि शब्द, स्वर, संगीत सबै बच्चुकै हुन। हालसम्म उनले आफ्नै खर्चमा रेकर्ड गरेको गीत यही हो। त्यो गीत रेकर्ड गर्न २२ हजार जति खर्च लाग्यो। जो उनले साहुसँग ऋण मागेका थिए।
बच्चुले अहिले पनि दूई/तीनवटा गीत तयारी गरेर बसेका छन्। ती पनि लोक र आधुनिक गीत हुन। तर, ती गीत रेकर्ड गर्न उनीसँग पैसा छैन। कतैबाट सहयोग जुटे मात्रै बच्चुको इच्छा पुरा हुन्छ।
बच्चुले पछिल्लो समय तयार पारेको आधुनिक गीत पनि हामीलाई सुनाए।
धनको गरिब भए नि
मनको धनी छु म
चाहे तिमिले जे भन
चाहे तिमीले पागल भन
पहिलो पहिलो माया गर्ने
मान्छे हुँ म..
५८ वर्षीय बच्चुका ४/५ वटा गीतमात्रै रेकर्ड छन्। ती पनि सबै अडिओमा मात्रै। भिडिओ बनाउन सकेनन्। रहर भए पनि आर्थिक अवस्थाले साथ दिएन।
उनलाई पनि भिडिओमा (पर्दामा) देखिने ठूलो रहर छ। आफूले गाएका गीत युट्युबमा राखेर देशविदेशमा हेरून् भन्ने चाहना छ।
बच्चु स्वरसम्राट नारायण गोपालका अनुयायी हुन्। जसले नारायण गोपाल, गोपालयोञ्जन र भक्तराज आचार्यलाई गुरू ठान्छन्। उनीहरूलाई बच्चुले कहिल्यै भेटेका भने छैनन्। घरमै बसेर उनीहरूलाई बच्चुले पच्छ्याउँदै आए।
‘उहाँहरूसँग मेरो भेट नभए पनि मेरा गुरू मान्दै आएको छु,’ उनले भने, ‘म हरेक दिन उहाँहरूलाई कल्पेर प्रणाम गरेरमात्रै हार्मोनियमको अगाडि बस्छु।’
मेला महोत्सवको समयमा बच्चुलाई निम्ता आइरहन्छ। महोत्सवहरूमा उनी एउटा कुनोमा बसेर हार्मोनियम बजाइरहेका हुन्छन्। गायकभन्दा पैसाको लागि म्युजिसियन बनेर जान्छन्।
उनले कहिल्यै आफ्ना लागि स्टेज माग्दैनन् रे। उनलाई राम्रोसँग चिनेकाहरूले मात्रै कहिलेकाहीँ स्टेज दिन्छन्। उनी कसैसँग गुनासो गर्दैनन्। त्यसैले गर्दा पनि बच्चु पर्दा पछाडिको गुमनाम पात्रजस्तै बन्न पुगेको उनलाई चिन्नेहरू बताउँछन्।
बच्चु तुलसीपुरकै पर्सेनीमा जन्मे। त्यही हुर्के, बढे। उनका बुवा तेजबहादुर पनि गीत संगीतका शौखिन थिए। जो घरमा साँझ सधैँ हार्मोनियम बजाउँथे। छेउमा बसेर बच्चुले नियाल्थे। घरमा बुवा नभएको मौका छोपी उनी हर्मौनियममा हात हाल्थे। बुवा अलि टाढै गएको थाहा पाए विद्यालय नै जाँदैनथे। दिनभर हर्मौनियम बजाएर बस्थे ।
त्यस्तै गर्दागर्दै कक्षा ७ सम्म बिजौरीस्थित जनता संस्कृति विद्यालयमा पढे। कक्षा ८ पढ्न महेन्द्र मावि कपडादेवी गए।
विद्यालय जीवनपछि पनि विद्यालयले वार्षिक उत्सवजस्ता कार्यक्रममा उनलाई बोलाउँथे।
गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीसँग महेन्द्र माविमा सँगै गीत गाएको नाचेको बच्चुले भुलेका छैनन्।
उतिबेला केटीलाई पनि केटा बनाएर नचाउनु पर्थ्यो रे।
‘केटी केटासँग नाचे निकै नराम्रो नजरले हेर्ने प्रचलन थियो,’ बच्चुले भने ‘ त्यही भएर हामीले कोमल वलीलाई केटाको भेषमा नचाउँथ्यौं।’
उनीकहाँ लकडाउनअघि १४/१५ जना विद्यार्थी गीत संगीत सिक्न आउँथे।
‘अहिले ३/४ जनामात्रै आउँछन्,’ बच्चुले भने ‘ लकडाउनपछि बाहिरी जिल्लाका विद्यार्थी सबै घर गए।’
उनले तुलसीपुरकै केही सरकारी र निजी विद्यालयमा गएर पनि विद्यार्थीलाई गीत संगीत सिकाउँथे। लकडाउने गर्दा विद्यालय पनि बन्द छन्। त्यसैले उनी अलि बढी आत्तिएका छन्।
हार्मौनियम समाएर गीत गाउन पाउँदा संसारका सबै दुःख पीडा बिर्सेने गरेको उनी बताउँछन।
‘यो बिन्दास लाइफ हो,’ बच्चुले थपे, ‘म हार्मौनियम बजाउँदै गीत गाउन पाए क्षणिक रूपमा भए पनि संसार भुल्छु। सारा दुःख पीडा बिर्सन्छु।’
दुःख पीडा भुल्नको लागि पनि बच्चुले बेलुका घरमा प्राय: सधैँ हार्मौनियम बजाउने गरेको बताए।
‘म हार्मौनियको अगाडि बसेर गाउन थालेपछि श्रीमती, छोरा बुहारी र नाति नतिना सबै वरिपरि आएर बस्छन्,’ उनले भने, ‘उनीहरू सबै स्वरमा स्वर मिलाएर वा ताली बजार साथ दिन्छन्।’