नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गरेको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई दुई लाख रूपैयाँ नगद तथा प्रमणपत्र प्रदान गरे।
प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त बस्नेतले निर्माण गर्नुभएको ‘लक्ष्य’ तृतीय घोषित भयो। प्रतियोगितामा दोस्रो र तृतीय हुने चलचित्रले क्रमश एक लाख ५० हजार र एक लाख नगद रूपैयाँ र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वना घोषित भए।
समारोहमा सान्त्वना स्थान प्राप्त गर्ने चलचित्रलाई २५-२५ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो।
उक्त प्रतियोगिताका लागि ३८ वटा निवेदन प्राप्त भएकामा छायाङ्कनपछि १० वटालाई प्रतिस्पर्धामा समावेश गरिएको निर्णायक समूहका संयोजक एवं चलचित्र अभिनेत्री सरिता लामिछानेले जानकारी दिइन्।
समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने चलचित्र प्रदर्शन गरिएको थियो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ।
(रासस)