बलिउड अभिनेता सुशान्त सिंह राजपुतका साथी ऋषिकेश पवार पक्राउ परेका छन्।
उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
उनलाई प्रतिबन्धित पदार्थ उपभोग र खरिद गरेको आरोपमा एनसिबीले पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। पवार राजपुतका सहायक निर्देशक समेत थिए।
उनीमाथि एनसिबीले गत जनवरीदेखि निगरानीमा राखेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार पवारमाथि राजपुतलाई लागुऔषधको बन्दोबस्त मिलाइदिने गरेको आरोप छ।
अभिनेता सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि एनसिबीले बलिउडमा लागुऔषधको प्रयोगबारे अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा एनसिबीले अभिनेत्री रिया चक्रवर्ती लगायत केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले सुशान्तसिंह राजपुतलाई लागुऔषध दिएको आरोपमा एनसिबीले पक्राउ गरेको थियो। अहिले उनीहरू छुटिसकेका छन्।
एनसिबीले सोधपुछ गर्दा रियाले पवारको नाम लिएकी थिइन्। त्यस्तै, सुशान्तका सहयोगी दिपेश सावन्तले पनि पवारको नाम उल्लेख गरेका थिए।
त्यसपछि एनसिबीले पवारको घरमा छापा मारेको थियो भने उनको ल्यापटप र हाइड्राइभ नियन्त्रणमा लिएको थियो।