लेखराज गिरी अहिलेसम्म हुम्ला पुगेका छैनन्। हुम्लाबारे उनले लेखेको गीत भने यतिखेर चर्चाको शिखरमा छ।
'रेलको बाटो...' गीतमा ८२ शब्द छन्। त्यतिमै उनले हुम्लाको कथा व्यथा, हुम्लीले भोगेको दुःख,पीडा लेखेर भ्याएका छन्। नेपालको असमान विकास र जीवन शैलीको व्याख्या यो गीतभित्र अटेको छ।
राजधानी काठमाडौंमा चीनबाट रेल आउने बहस चलिरहेका बेला हुम्लामा भने मोटर गाडी पुगेका छैनन्।
अस्पताल शहर बजार केन्द्रीत हुँदा दूर भूगोलका बिरामी नागरिकले सिटामोलसमेत पाउँदैनन्। चोट-पटक लाग्दा होस् वा भोक लाग्दा गरिबी, विकटता र अभावले उनीहरूलाई रोएरै बस्नुपर्ने बनाएको छ। यीनै कुरा गिरीले ८२ शब्दको गीतमा भनेका छन्।
'रेलको बाटो...' गीतमा आइतबार बिहानसम्म ५ हजार ८ सय ५५ जनाले युट्युब कमेन्ट लेखेका छन्। अधिकांशले गीतको तारिफ गरेका छन्। गीत युट्युबमा राखेको महिना दिन नपुग्दै १४ लाख २१ हजारभन्दा बढी पटक हेरिएको छ।
रेलको बाटो… लोकप्रियताको शिखरमा पुगेसँगै गिरीको चर्चा पनि चुलिएको छ।
'यति राम्रो गीत एकाएक जन्मियो?' अचेल उनलाई धेरै मान्छेले यस्तो प्रश्न सोध्छन् रे।
लेखराजले गत वर्षमात्रै पहिलो पाइला एल्बम निकालेका थिए।
त्यसपछि गायक सुरज पण्डितले उनलाई आफ्ना लागि हुम्ला जिल्लाबारे एउटा गीत लेखिदिन आग्रह गरे।
गिरी दाङका हुन्। हुम्लाको जीवन्त कथा-व्यथा बोल्ने गीत लेख्न सजिलो कुरा थिएन। तैपनि, गिरीले वचन दिए।
'के छ हुम्लाको खासियत कुरा ?' उनले गायक पण्डितलाई सोधे।
गायक पण्डित जुम्लाका हुन्। नजिकैको हुम्ला उनी पनि अहिलेसम्म गएका छैनन्। पैदल जान गाह्रो, मोटर जाँदैन।
उनले गिरीलाई यही कुरा सुनाइदिए।
‘हुम्लामा अहिलेसम्म पनि मोटर बाटो पुगेको छैन,' भन्ने शब्दले लेखक गिरीको मस्तिष्कमा भुइँचालो गएझैं भयो रे।
गिरी चित्रकारिता पनि गर्छन्। यो कुरा सुनेपछि उनी कुची लिएर बसेका थिए। हुम्लामा मोटर बाटो पुगेको पनि छैन भन्ने सोच्दासोच्दै गिरीको हातबाट चित्र बनाउने कुची झरेछ।
'रंगहरू लतपत भएझैं भयो। अनि शब्दहरू तँछाडमछाड गर्दै चित्र सँगै बोल्न थाले,' उनले भने, 'चित्र कोर्दै गएँ, शब्दहरू विभिन्न भागभंगीमा नाच्दै-उफ्रदै आउन थाले।'
उनले पेन्सिलले केही शब्द कपीमा टिप्थे। ध्यानपूर्वक चित्र कोरिरहँदा आफू कहिल्यै नपुगेको हुम्लाको पीडा आँखा वरिपरि घुम्न थाल्थे। अनि फेरि उनले अर्को शेर थप्थे। त्यसैगरी गीतका लागि शब्द उन्दै र थप्दै गए।
गिरीले पनि अक्षर र शब्द उन्न थालेको धेरै दिन बितिसकेको थियो।
‘रेलको बाटो...पूरा गर्न मलाई झन्डै एक महिना जति लाग्यो,’ गिरीले भने, ‘चित्र नबुझ्दासम्म मैले धेरै शब्दहरू झिक्ने र थप्ने गरेको थिएँ।’
त्यो काम उनले नितान्त एक्लै रंगसँग क्यानभास खेल्दै गरे पूरा गरेका हुन्।
त्यसरी कोरेको गीत बजारमा आउनासाथ चर्चित बन्यो। युट्युबमा गीत सार्वजनिक भएको हप्ता दिनपछि गिरी काठमाडौंबाट बस चढेर दाङ आउँदा बसमा दर्जनौं पटक त्यही गीत बज्यो। यात्रुले चालकलाई पटक/पटक त्यो गीत बजाउन लगाएको आफैं देखे। मनमनै खुसीले गदगद भए।
‘गीत सबैले मन पराइदिनु भएको छ, तर म अझै पूर्ण सन्तुष्ट छैन,’ उनले भने।
गिरी किशोर अवस्थादेखि नै गजल, कविता कोर्थे। गाउँघरमा हुने पर्वहरूमा मादल, बाँसुरी बजाउँथे। साथीहरूसँगको जमघटमा हल्का नाच्थे। त्योभन्दा बढी उनको सानैदेखि चित्र कोर्ने रूची थियो। स्कुले जीवनमै घरका भित्ताभरि आफैंले कोरेका विभिन्न चित्रहरू टाँगेका हुन्थे। उनका गुरू भने कोही थिएन। आफ्नै मेहनत र लगनले उनी गाउँघरमा आर्टिष्ट बनिसकेका थिए।
तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर गाउँमा जन्मिएका गिरीको बाल्यकाल अभावमै बित्यो। स्थानीय सरकारी विद्यालय पढे। घर गृहस्थी चलाउन दाजुहरू कालापहाड जान्थे। घरमा कसैको जागिर थिएन।
गरिबी के हो? त्यो उनले बाल्यकालमै नजिकबाट अनुभूत गरे।
जीवन धान्ने माध्यमका रूपमा उनले गाउँघरमै साइन बोर्डहरू लेख्न थाले।
त्यसलाई व्यावसायिक रूप दिन तुलसीपुरका केही आर्ट पसल सञ्चालककोमा गएर काम गरे। एसएलसी पास भएपछि गाउँदेखि तीन घन्टा दैनिक साइकल चलाएर बजारमा कलेज पढे। आर्टको काम पनि सिके। जसोतसो कक्षा १२ पास गरे।
पढाइमा त्यहीँ ब्रेक लाग्यो। रूची आर्टमै थियो। त्यसपछि उनी जागिरको शिलशिलामा काठमाडौं आए। जागिरबाट बचेको समय साँझ बिहान उनी चित्र बनाउँथे।
स्थानीय पालिकादेखि तुलसीपुर क्षेत्रका धेरै चर्चित र सामाजिक व्यक्तिका चित्र उनले हातैले कोरेका छन्।
गीतसंगीतमा पनि उनको रूची छ।
रेलको बाटो लेख्न गायक पण्डितले प्रेरणा दिनुको पनि कारण छ।
कलाकार हुनुको नाताले मोटर बाटोसमेत नपुगेको हुम्लाजस्तो दूर भुगोलको कुरा बोल्नु पर्छ भन्ने लागेरै आफूले गिरीलाई गीत लेख्न भनेको पण्डितले बताए।
पण्डितले ७/८ वर्षमा डेढ दर्जन जति गीत गाएका छन्। तर, 'रेलको बाटोले...' आफूलाई देश विदेशमा चर्चित बनाइदिएको पण्डितले बताए।
‘मैले अहिलेसम्म धेरै गीत गाएँ तर मैले गाउनु पर्ने वास्तविक गीत यही रहेछ भन्ने लागेको छ,’ पण्डितले भने ‘गीत माया प्रितिका मात्रै होइन जीवनका यथार्थ भोगाइमा पनि बन्नु पर्छ भन्ने लाग्छ।’
गायक पण्डितले आफूले सोचेको जस्तै गीतका शब्द पाएको र संगीत पनि उत्तिकै राम्रो भएको हुँदा चर्चित भएको बताए।
अब छिट्टै रेलको बाटो-२ आउँदै गरेको पण्डितले सुनाए।
'शब्द र संगीत तयार भइसकेको छ। त्यो गीत पनि म आफैंले गाउने हो,’ पण्डितले भने ‘यसपालि हामी गीतको भिडिओ पनि आफैं गर्ने छौं। गीतकार र म भिडिओ खिच्न हुम्ला पुग्ने प्रयत्न गर्ने छौं।'