शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सना सिंह ठकुरीले पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ पाएका छन्। विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले सोमबार भर्चुअल प्रेस भेला मार्फत पाँच–पाँच लाख रकम प्रदान गरिने बताइएको हो।
पुरस्कार पाउनेमा शान्ता नेपालीको 'मुना', ज्योत्सना सिंह ठकुरीको 'एलेक्सिया' र सुनिल गुरूङको 'विण्ड हर्स' रहेका छन्। अब तीनै जना फिल्ममेकरले वर्ष २०२१ को अन्त्यसम्म फिल्म बनाउनु पर्ने बताइएको छ। उनीहरुलाई १५ मिनेटको फिक्सन फिल्म निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको हो।
गोग्राह फिल्म कार्यशाला विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको छ। यो कार्यशाला यसअघि विराटनगर फिल्म कार्यशालाका नाममा गरिँदै आएको थियो। यसै वर्षदेखि गोग्राह नाम दिइएको यो कार्यशाला निर्देशक/सिनेलेखक दिपक रौनियार, अभिनेत्री/सिनेलेखक आशा मगराती, अध्येता भास्कर गौतमको नेतृत्वमा सुरु भएको हो।
यो कार्यशाला सन् २०१९ मा विराटनगरमा एक हप्ते आवासीय फिल्म कार्यशालाबाट आरम्भ गरिएको थियो। सन् २०२०/२१ को वर्कसप ८ हप्ते लेखन कार्यशाला, १२ हप्ते निर्देशन कार्यशाला र अन्तिम चरणमा तीन उत्कृष्ट स्कृप्टलाई ५।५ लाखको पुरस्कार प्रदान गरि निर्माण गर्न सघाउने गरी तीन भागमा बाँडिएको थियो।
सन् २०२०/२१ को फिल्म कार्यशालाका लागि झण्डै दुई सय व्यक्तिले निवदेन दिएकोमा १२ सहभागी छानिएको हो।आठ हप्ताको पहिलो चरणको लेखन कार्यशाला पछि सहभागीहरूले बुझाएको स्कृप्ट र उनीहरूको लेखन/निर्देशन कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशलाको लागि छानिएको थियो।
अहिले अन्तिम चरणमा तिनैमध्ये ३ जनाले आ–आफ्नो फिल्म बनाउनका लागि पाँच/पाँच लाख रुपैयाँ निर्माण पुरस्कार पाएका हुन्।
शान्ता नेपाली जातको प्रश्न, हिमालयन रोडिज र कृपा अनप्लग्डजस्ता चर्चित कार्यक्रमहरुको निर्देशन/निर्माणमा संलग्न अनुभवी नाम हुन्। यसअघि लघु फिल्मसमेत निर्देशन गरिसकेकी उनले पाँच लाखको पुरस्कारले फिल्म निर्माणमा काम गर्न ठूलो हौसला मिलेको उनले बताइन्।
‘पहिलो पटक फिक्सन फिल्मको कथा लेखेको हुँ। पहिलो कामका लागि नै आर्थिक सहयोग पाउँदा आँट बढेको छ,’ उनले भनिन्, ‘नेपालमा सर्ट फिल्मका लागि आफ्नै खल्तीबाट पैसा हालेर बनाउनु पर्ने स्थितिमा आएको यो सहयोग महत्वपूर्ण छ।’
शान्ताजस्तै अमेरिका बस्दै आएका सुनिल गुरुङ र काठमाडौंकै ज्योत्सना सिंह ठकुरी पनि पाँच–पाँच लाख आर्थिक सहयोग पाएकोमा उत्साहित छन्। ‘एकदमै खुसी लागेको छ। अझ मेहनत गर्ने उर्जा थपेको छ,’ सुनिलले भने, ‘पुरस्कारले फिल्म राम्रो बनाउनु पर्छ भन्ने दबाब पनि बढाएको छ।’
'भुसको लोग्ने' फिल्मकी सह-निर्देशक ज्योत्सनाले भनिन्, ‘हामीजस्ता सिकारु निर्देशकलाई पाँच लाख ठूलो आर्थिक सहयोग हो। यसले मलाई फिल्मको गुणस्तर राम्रो बनाउन आवश्यक अनुसन्धान गर्ने सुबिधा दिएको छ।’
गोग्राहाले आफ्नो वार्षिक चलचित्र लेखन तथा निर्माण कार्यशालासँगै यो वर्षदेखि ६ हप्ता लामो चलचित्र लेखन तथा सम्पादन रेसिडेन्सी पनि सञ्चालन गर्ने कार्यशालाका आयोजक दीपक र आशाले जानकारी दिए।