काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्र पुस्तक ‘यःमरि’ बुधबार राजधानीमा विमोचन भएको छ। सधैं अतिथिका साथ पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक तथा चित्रकार कृषा ताम्राकारका साथमा दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरेका थिए। सेफ रविन श्रेष्ठले विमोचन छेउमै यःमरि बनाए। उद्घोषक लुनिभा तुलाधरले कार्यक्रम अगाडि बढाइन्।
कथालयकी सीईओ सुनिती अमात्यले विमोचन कार्यक्रमको शैलीलाई उत्साहका रूपमा लिएको बताइन्। कथालयले बालसाहित्य मात्र नभई किशोर साहित्यसमेत प्रकाशन गरिरहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण प्रकाशन गर्दै आएको बताइन्।
१५ वर्षअगाडि स्थापना भएको कथालयले गुणस्तरीय, सचित्र, रंगीन बालपुस्तक प्रकाशन गरिरहेको छ।
यःमरि बनाउँदै यःमरि पुस्तक विमोचन गरिएको कार्यक्रम समापनपछि सहभागी अतिथिलाई यःमरि खुवाएरै बिदाइ गरिएको थियो।