काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को २० औं संस्करण समापन भएको छ।
सूर्य शाही निर्देशित ‘ह्विल्स अन दि बस’ ले उत्कृष्ट फिक्सन फिल्मको अवार्ड जितेको छ। त्यस्तै, अनिल बुढा निर्देशित फिल्म ‘द आइरन डिगर’ ले नेपाल प्यानारोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो।
यी दुई फिल्मले क्रमश: एक लाख र ७५ हजार नगद पुरस्कार पाए। इँगि होपो कोइँच सुनुवारको ‘सेनाको चेली’ र पिंकी श्रीस राना र एलएसएमको ‘हजुर’ ले स्पेसल मेन्सन अवार्ड पायो।
अन्तर्राष्ट्रियतर्फ ‘द सेकेन्ड समिट’ विजेता बन्यो। यो फिल्मले उपहारमा नगद दुई लाख जित्यो। दोस्रो अवार्ड लिजा रूजली र कार्लोन निर्देशित ‘लेडी एट थाउजेन्ड’ले पायो। यो फिल्मले नगद एक लाख ५० हजार पायो। ‘अ ह्वाइट ड्रिम’ तेस्रो बन्दै एक लाख जित्न सफल भयो।
अन्तर्राष्ट्रियतर्फको स्पेसल मेन्सन अवार्ड ‘फार वियोन्ड द पास्टरल्याण्ड’ र ‘कुमारीः अ फादर्स ड्रिम’ ले पायो। फिल्म ‘फार बियोन्ड द पास्टरल्याण्ड’ ले इसिमोड बेस्ट माउन्टेन फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर पनि पाएको छ।
हेर्ने कथा टिमले बनाएको डकुमेन्ट्री ‘बाघको बंगारा’ ले किम्फ अडियन्स अवार्ड प्राप्त गर्दै ट्रफीसहित नगद ५० हजार जितेको छ। मंसिर २२ देखि सुरु भएको किम्फमा ३० देशका ६० फिल्म देखाइए।
महोत्सवमा निर्णायकका रूपमा जर्मन लेखक तथा निर्माता माइकल पज, इन्सेसान्टट रेन स्टुडियोका किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु माउन्टेन फिल्म फेस्टिभलकी जिन्ना लील रहेका थिए।