नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण यही पुस ६ देखि ११ गतेसम्म हुने भएको छ। आयोजक संस्था बुकवर्म फाउन्डेसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै बाराहीघाट, लेकसाइड पोखरामा फेस्टिभल हुने जानकारी दिएको हो।
यस वर्ष फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा–प्रतिष्ठान छ। यसैगरी प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञा–प्रतिष्ठान रहेको बुकवर्मले जनाएको छ।
अघिल्ला संस्करणझैं फेस्टिभलमा यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक लगायतको उपस्थिति रहनेछ। त्यस्तै ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछ।
यसपालि फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करूणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरूको सहभागिता हुँदैछ।
त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू; गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बू लगायतको सहभागिता रहनेछ। साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तिहरू, दार्चुला, गोरखा, मनाङका स्थानीय जन–प्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ।
फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति हुनेछ। पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति छ भने पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुति छ। गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योञ्जनको स्वगारोहणको २५ वर्षमा उनीप्रति फेस्टिभलको सम्मान हो।
यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा सय वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगितिक प्रस्तुति र रैथानेको प्रस्तुति छ। फेस्टिभलको अन्तिम दिन प्रदीप रोदनको महफिल रहने छ।
फेस्टिभलमा शिक्षाका ३ सत्रहरू छन्। चार दिन बिहान ९ बजेदेखि १०ः३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम पनि हुनेछ।
‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने कार्यक्रम छ।