बलिउड अभिनेता अक्षय कुमार फिल्म 'सूर्यवंशी'को सुटिङक्रममा घाइते भएका छन्। प्रहरीको भूमिका निर्वाह गरेका अक्षयको सुटिङक्रममा हातमा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चोट लाग्नेबित्तिकै उनको उपचार गरिएको थियो। उनको देब्रे हातमा नसाको समस्या भएको बताइएको छ। 'सिंघम' र 'सिम्बा' फिल्मको श्रृंखलाका रूपमा अर्को वर्ष रिलिज हुने 'सूर्यवंशी'मा अक्षयको मुख्य भूमिका छ।
अक्षयबाहेक क्याटरिना कैफको पनि महत्वपूर्ण भूमिका छ। त्यस्तै 'सिम्बा'का मुख्य अभिनेता रणवीर सिंह र 'सिंघम'का अजय देवगन फिल्मको क्लाइमेक्समा देखिने बताइएको छ।
फिल्म सन् २०२०, मार्चमा रिलिज हुनेछ। यो फिल्म रोहित शेट्टी र करण जौहर मिलेर बनाएका हुन्। फिल्मका धेरैजसो दृश्य बैंकक, हैदराबाद र मुम्बईमा खिचिएको छ।
अक्षय कुमार केही वर्षयता निकै व्यस्त छन्। वर्षमा ४-५ वटा फिल्म खेलिरहेका उनको कमाइ पनि उच्च छ। यो वर्ष अक्षय अभिनित 'मिसन मंगल' र 'केशरी' हिट भए भने हालै रिलिज भएको 'हाउसफुल ४' ले आफ्नो कमाइ बढाइरहेको छ। यो फिल्मको गीत 'सैतानका साला..बाला'ले नै युट्युबमा दस करोड भ्युज कटाइसकेको छ।
अक्षयका आगामी फिल्म 'सूर्यवंशी', 'लक्ष्मी बम','गुड न्युज','हेराफेरि ३' र 'पृथ्वीराज' हुन्।