बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
ठाणे जिल्लाका १६ वर्षीय नाबालिगले मुम्बई कन्ट्रोल रूममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ। प्रहरी कन्ट्रोल रूममा सोमबार राति धम्कीपूर्ण कल आएको थियो।
उनले सलमानलाई ३० अप्रिलमा (वैशाख १७ गते) मार्ने धम्की दिएका थिए। कन्ट्रोल रूममा कल गर्दा उनले आफूलाई रकी भाइ बताएका थिए।
उक्त धम्कीपछि प्रहरीले नम्बर ट्र्याक गर्दा ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लागेको थियो।
प्रहरी अधिकारीका अनुसार यस मामिलामा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सिआईयू) पनि संलग्न थियो। सिआईयूका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पदलाई युवकलाई पक्राउ गरेको हो।
अहिले उक्त कल गर्नुको पछाडि किशोरको मनसायबारे अनुसन्धान भइरहेको छ।
लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्।
उक्त कार भारतमा लन्च भएको छैन। भारतमा यस कारको मूल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान छ।
सलमानलाई बुलेटप्रुफ कार किन्ने सल्लाह सुरक्षा व्यवस्थापन टिमले दिएका हुन्।
इदको अवसर पारेर अप्रिल २१ देखि सलमान खानको फिल्म 'किसिका भाइ किसिकी जान' रिलिज हुँदैछ।
फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ।