बलिउड अभिनेत्री रिया चक्रवर्तीले 'एमटिभी रोडिज १९' मा देखिने भएकी छन्। एमटिभी रोडिज र रियाले आफ्नो इन्स्टाग्राम मार्फत यसबारे जानकारी दिएका हुन्।
उनी लामो समयपछि टिभीमा फर्किएकी हुन्। उनी एमटिभी रोडिजको १९ औं संस्करणमा 'ग्याङ लिडर' का रूपमा देखा पर्दैछिन्।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि उनी टिभी र फिल्मबाट टाढा थिइन्। सुशान्तको मृत्युपछि यो नै उनको पहिलो कार्यक्रम हो।
उनले एमटिभी रोडिजमा आउने खबर एक भिडिओ मार्फत् सार्वजनिक गरेकी हुन्।
भिडिओमा उनले भनेकी छन्, 'तपाईंहरूलाई के लाग्यो, म फर्केर आउँदिनँ? डराउँछु?'
रियाले थप भनेकी छन्, 'अब डराउने पालो अरूकै हो। अडिसनमा भेटौंला।'
यो खबर सार्वजनिक हुनेबित्तिकै अभिनेता अपारशक्ति खुराना, रियालिटी टिभी कार्यक्रमकी सहभागी सीमा सजदेह लगायतले यसमा प्रतिक्रिया दिएका छन्।
एक जनाले लेखेका छन्, 'यो कार्यक्रम चलाउन रियाभन्दा उपयुक्त मान्छे को होला? डराउनु हुँदैन र हिम्मत राख्नुपर्छ भन्ने कुरा उनले देखाएकी छन्।'
अर्का एक जनाले भने रिया ग्याङ लिडर हुन उपयुक्त व्यक्ति नभएको बताएका छन्।
रोडिजको यो कार्यक्रममा रियासँगै प्रिन्स नरूला र गौतम गुलाटी पनि हुने बताइएको छ। हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रम सञ्चालन अभिनेता सोनु सूदले गर्दैछन्।
एमटिभी रोडिजमा सहभागी हुने विषयमा रियाले भनेकी छन्, 'म एमटिभी रोडिजको हिस्सा हुन पाएकोमा एकदमै उत्साहित छु। एमटिभीसँग काम गर्न पाउनु घर फर्केजस्तै भएको छ। सोनु सूद र अरू साथीहरूसँग काम गर्ने कुराले मलाई उत्साहित बनाएको छ। मलाई प्रशंसकहरूले माया दिनुहुनेछ भन्ने आशा छ।'
रियाले आफ्नो कलाकारिताको यात्रा टिभीबाटै तय गरेकी थिइन्। उनी एमटिभी इन्डियाज टिभिएस स्कुटी टीन डिभामा सहभागी भएकी थिइन्। कार्यक्रममा उनी फर्स्ट रनर-अप भएकी थिइन्। पछि उनी एमटिभीका कार्यक्रमहरू पेप्सी एमटिभी वासप, टिकट्याक कलेज बिट र एमटिभी गन इन ६० सेकेन्ड्सकी प्रस्तोता बनिन्।
फिल्ममा भने उनले तेलेगू भाषाको 'तुनिगा तुनिगा' बाट प्रवेश गरेकी हुन्। उनको पहिलो बलिउड फिल्म 'मेरे ड्याड कि मारूती' हो। सुशान्तको मृत्युपछि उनी अभिनीत फिल्म 'चेहेरे' रिलिज भएको थियो।
सुशान्तको मृत्यु प्रकरणमा उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषध मुद्दामा पक्राउ गरेको थियो। पछि उनी रिहा भइन्।
हाल रिया बन्टी सजदेहसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ। बन्टी सीमा सजदेहका दाइ हुन्। पेसाले फेसन डिजाइनर समेत रहेकी सीमा अभिनेता सोहेल खानकी पूर्वपत्नी हुन्।