बलिउड अभिनेता सलमान खान र उनको बडिगार्ड नवाज शेखविरूद्धको पत्रकार मारपिट मुद्दा बम्बे उच्च अदालतले खारेज गरेको छ।
सन् २०१९ मा उनीहरूविरुद्ध दर्ता भएको मुद्दा अदालतले खारेज गरिदिएको हो। उनीहरूविरूद्ध अशोक पाण्डेले धम्की र मारपिट गरेको आरोप लगाएका थिए।
भारतीय सञ्चारमाध्यम इटाइम्सका अनुसार बम्बे उच्च अदालतका जस्टिस भारती डांग्रेले सलमान र उनका बडिगार्डविरूद्धको मुद्दा रद्द गरेका हुन्।
‘सलमान खान र उनका बडिगार्डविरूद्ध लागेको मुद्दा जारी राख्न कानुनी प्रक्रियाको दुरुपयोग हुनेछ,’ सुनवाईमा डांग्रेले भनेकी थिइन्।
सलमान प्रायः मुम्बईको सडकमा साइकल चलाइरहेका हुन्छन्। उनको पछि-पछि बडिगार्ड पनि दौडिरहेका हुन्छन्। सन् २०१९ अप्रिल २४ मा सलमान साइकल चलाइरहेका बेला अशोक पाण्डेले उनको भिडिओ खिचेका थिए।
अशोकका अनुसार उनले सलमानका बडिगार्डसँग भिडिओका लागि अनुमति लिएका थिए। तर उनले भिडिओ खिच्न लाग्दा मारपिट गरिएको थियो।
इदको अवसर पारेर अप्रिल २१ देखि सलमान खानको फिल्म 'किसिका भाइ किसिकी जान' रिलिज हुँदैछ।
फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ।