पाकिस्तानी गायक राहत फतेह अली खानले सलमान खानको फिल्म 'दबंग'मा 'तेरे मस्त-मस्त दो नैन' गाएका थिए। 'दबंग २' मा 'तेरे नैना बडे दगाबाज रे' गाए। दुवै गीत हिट भएका थिए।
फिल्मको तेस्रो भाग अर्थात् 'दबंग ३'का लागि पनि राहतको स्वरमा 'नैना लडे' गीत छानिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला दुवै गीत हिट भएकाले सलमान खान पनि राहतकै स्वरमा नयाँ गीत ल्याउन चाहन्थे। र 'नैना लडे' को रेकर्डिङ पनि भइसकेको थियो।
संगीत निर्देशक साजिद-वाजिददेखि सबै टोली यो गीतमा खुसी थिए। तर फिल्ममा राहतको स्वरमा यो गीत राखिएन। जावेद अलीको स्वरमा यो गीतको अडियो सार्वजनिक भएको छ।
सलमान र राहतको सम्बन्धमा कुनै दरार आएर यस्तो भएको भने होइन।
खासमा यी सबको कारण भारत-पाकिस्तानबीचको तनाव हो। जुन बेला यो गीत रेकर्ड भइरहेको थियो, त्यो बेला भारत-पाकिस्तानबीच तनाव चलिरहेको थियो। बलिउडमा पाकिस्तानी कलाकारसँग काम नगर्ने भन्ने कुरा भयो। यही कारण सलमान र टिमले नै राहत फतेह अली खानको साटो जावेद अलीलाई गीत गाउन लगाएका हुन्।
भारत-पाकिस्तान बीच बेलाबेलामा हुने तनावले बलिउडमा जमेका पाकिस्तानी कलाकारलाई समस्यामा पार्ने गरेको छ। दुई देशको तनावसँगै पाकिस्तानी कालाकारलाई बहिस्कार गर्ने कुरा उठ्न थाल्छ।
प्रभुदेवाको निर्देशनमा बनेको 'दबंग ३' डिसेम्बर २० मा रिलिज हुँदैछ। फिल्ममा सलमानबाहेक सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर र प्रमोद खन्नाको पनि मुख्य भूमिका छ।