सात वर्षअघि मात्र हो, अभिनेता आयुस्मान खुराना बलिउड प्रवेश गरेको। अहिले उनी बलिउडको ट्रयाकमा दौडिरहेका छन्। पछिल्ला दुई वर्ष त झन् उनको रफ्तार देखेर छक्क नपर्ने कमै होलान्।
यी दुई वर्षमा उनले सातवटा फिल्म खेले। 'बरेलीकी बर्फी', 'शुभ मंगल सावधान', 'अन्धाधुन', 'बधाइ हो', 'आर्टिकल १५', 'ड्रिम गर्ल' र हालसालैको 'बाला'। कम बजेटमा बनेका यी फिल्मले राम्रो प्रतिक्रियासहित कमाइमा हिट सावित भए।
गत शुक्रबार मात्र रिलिज भएको 'बाला'ले तीन दिनमा ४४ करोड भारू कमाइसकेको छ। यसले पहिलो दिन १० करोड भारू कमाएको थियो। यो आयुस्मानको रिलिजकै दिन सबभन्दा धेरै कमाउने फिल्म हो। लगातार हिट फिल्मको श्रृंखलामा 'बाला'ले सातौं गाँठो कसेको छ।
सन् २०१२ मा 'विक्की डोनर'बाट बलिउडमा देखिएका उनले यी सात वर्षमा १३ वटा फिल्म खेलेका छन्। फरक भूमिका र अलग कथामा देखिने आयुस्मान अहिले बलिउडका 'हिट मेसिन' हुन्।
बलिउडमा सुपरस्टारका सुपरहिट फिल्म भन्ने एक किसिमको पुरानो विश्वास आयुस्मान जस्ता कलाकारले तोडेका छन्। जुन वर्ष सलमान खान, शाहरूख खान, आमिर खानजस्ता सुपरस्टारका फिल्म सुपर फ्लप भए, त्यही वर्ष आयुस्मान, राजकुमार राव, विक्की कौशल जस्ता नयाँ अभिनेताका फिल्म सुपरहिट भएका थिए।
उसो त 'विक्की डोनर'मै आयुस्मानको भूमिका खुबै सराहना भएको थियो। फिल्म जम्मा पाँच करोड भारूमा बनेको थियो जसले ६५ करोड कमाइ गरेको थियो। फिल्मको सफलतासँगै आयुस्मानको पहिचानै 'विक्की डोनर' नामबाट हुन थाल्यो।
तर पहिलो फिल्मसँग उनको सफलताको सिक्री बाँधिएको थिएन। पछिका फिल्म 'नौटंकी साला', 'बेवकुफियाँ', 'हवाइजादा' र 'मेरी प्यारी बिन्दू' ले अपेक्षित सफलता पाउन सकेनन्। असफलताको ट्रयाकमा लर्खराइरहेका आयुस्मानलाई 'दम लगा के हैसा'ले 'इनर्जी ड्रिंक'को काम गर्यो।
हँसिलो अनुहार, कुशल अभिनय र गायन क्षमता पनि भएका आयुस्मान अहिले 'प्रयास गरेर नथाक्ने कलाकार'का रूपमा चिनिन्छन्। उनी नयाँ र चुनौतीपूर्ण भूमिका गर्न सधैं तयार देखिन्छन् जो समाजका प्रतिबिम्ब हुन्छन्।
'विक्की डोनर'मा वीर्यदान गर्ने युवकदेखि सुरू भएको उनको अलग भूमिका 'शुभ मंगल सावधान' मा यौनक्षमतामा समस्या भएको व्यक्ति, 'बाला'मा कपाल खुइलिएको र आगामी फिल्म 'शुभ मंगल ज्यादा सावधान'मा समलिंगी भएको देखिनेछ।
उनलाई यस्ता भूमिका मनपर्छन् पनि। उनी भन्छन्, 'मलाई यस्ता फरक भूमिका निर्वाह गर्न डर लाग्दैन। म यी चुनौती स्वीकार्छु। झन् यिनै फिल्मका कारण लगातार हिट सावित भइरहँदा आत्मविश्वास अझै बढ्छ। मेरा विगतका रोजाइले सफलता दिएका छन्। मेरो निर्णय सही भएको प्रमाणित गरेका छन्। यसले चुनौती लिन थप हौस्याएको छ।'
उनको भनाइले पुष्टि हुन्छ- बलिउडमा स्थापित 'टिपिकल हिरो' नभएर समाजकै चरित्र बन्ने आयुस्मानको यात्रा अझै धेरै वर्ष चल्नेछ।
व्यापार विज्ञ राजेश थडानीले आयुस्मानका हिट फिल्मबारे भनेका छन्- मान्छेहरू आयुस्मानलाई कुनै कल्पनाको हिरो ठान्दैनन्। ऊ त हाम्रो छिमेकी, सँगै फ्ल्याटमा बस्ने वा टोलकै आम मान्छे हुन्छ। र, उसको यही भूमिका मान्छेले रूचाएका छन्।
लगातार फरक धारका फिल्म सधैं हिट नहुन पनि सक्छन्। आयुस्मानको गाडीको रफ्तार कहीँ न कहीँ कम हुन सक्छ। दर्शकले एकैखाले स्वाद मनपराउँदैनन्। आयुस्मानबाट दर्शक, फिल्म निर्माता र समीक्षकहरूको पनि ठूलो अपेक्षा हुन थालेको छ। त्यसैले उनले अबका दिनमा एकदमै सावधान भएर फिल्म छान्नुपर्ने थडानीले सुझाएका छन्।
जे होस् आयुस्मान फरक भूमिका देखिन अहिल्यै नै पछि हट्ने सोचमा छैनन्। 'शुभ मंगल ज्यादा सावधान' अघि उनी अमिताभ बच्चनसँगै 'गुलाबो सिताबो' मा देखिनेछन्।
माथि भनिएजस्तै, दर्शकदेखि समीक्षकसम्मले 'हिट मेसिन' आयुस्मानका फिल्म हिट हुने ठूलै अपेक्षा र विश्वास राखेका छन्।
(हिन्दुस्तान टाइम्सको सहयोगमा तयार पारिएको)